नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पर्न सफल

Advertisement

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएईसँग बिहीबार भएको अन्तिम खेलमा नेपालले जित हासिल गरेसँगै ऐतिहासिक सफलता हात पार्न सफल भएको हो । 

लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । आजको खेल नेपालको लागि निर्णायक र निकै महत्वपूर्ण थियो । कडा प्रतिस्पर्धा भइरहेको बेला ४४ ओभरसम्मको खेलमा नेपाललाई जितको लागि ३६ बलमा ४२ रन हाल्नुपर्ने बाध्यता थियो । तर पानी परेका कारण खेल रोक्कियो र डिएल मेथडमा जाँदा नेपाल २ रनले अगाडि देखिन पुग्यो । सोही आधारमा नेपालको खेलको निर्णय गरिएको हो । 

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख र गुल्शन झाले अर्धशतक बनाएका थिए । आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।

यसअघि लिग टू कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो । 

आजको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । आठ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

आजको जितसँगै नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जितिसकेको छ । आजको खेल हेर्न दर्शकहरुको भीड लाग्नुका साथै प्रधानमन्त्रीसहितका नेताहरु खेलमैदान पुगेका थिए । 

Advertisement

Advertisement