राजश्व संकलन घटेको बेला भन्सार चुहावट रोक्न दुई डीजीले गरे कडाई, भन्सार नाकामा भागाभाग

Advertisement

काठमाडौं। राजस्व लक्ष्यअनुसार नउठेर सरकार निकै दबाबमा रहेको बेला राजश्व अशुली गर्ने दुई सरकारी निकायका प्रमुखहरु राजश्व चुहावट रोक्न दौडधुप सुरु गरेका छन् । 

भन्सार विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले भन्सार महशुल छलीलाई निरुत्साहित गर्न प्रयास सुरु गरेका हुन् । चालु वर्षको पहिलो आठ महिना सकिदा भन्सार महसुल लक्ष्यको ५८ प्रतिशत मात्रै संकलन भएको छ । राजश्व लक्ष्यभन्दा डेढ खर्ब कम उठेपछि यतिबेला सरकारले निर्माण आयोजनाको ६१ अर्ब रुपियाँ भुक्तानी दिन सकेको छैन् । यही स्थिति रहे सरकारले सामाजिक सुरक्षामा गर्ने खर्च र सरकारी कर्मचारीलाई तलब सुवाउनसमेत मुस्किल पर्नसक्ने भन्दै कतिपय अर्थविद्ले चिन्तासमेत व्यक्त गरेको देखिन्छ । 

Advertisement

राजश्व बढी उठाउन माथिबाट दबाब बढेसँगै दुई सहसचिवहरु भन्सार चुहावट रोक्न सक्रिय बन्न थालेका हुन् । विभागका महानिर्देशक नारायण सापकोटाले जिम्मेवारी सम्हाल्ने बित्तिकै भन्सार कार्यालयहरुलक्षित अनुसन्धान सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजस्व संकलनमा जादूको छडी चलाइदिन्छु भन्दै आश्वस्त गराएका उनले भन्सार जाँचपासका क्रममा राजश्व छलीको आशंका लागेका गाडीहरु धमाधम पक्राउ गर्न सुरु गरेका छन् । 

यसरी समातिएका गाडीहरुले विभागको हरिहर भवनस्थित पार्किङ स्थल भरिएको छ । यसअघि आईफोन र सामसुङ मोवाइलका पार्टपुर्जा ल्याएका गाडीहरु पक्राउ गरी विभागले ४९ लाख रुपियाँ जरिवाना गरेर छोडेको थियो । सापकोटा आएपछिको दुई महिनामा २० भन्दा धेरै गाडी नियन्त्रणमा लिएर छानविन तथा कारवाही प्रक्रिया अघि बढाइएको छ । 

महानिर्देशक सापकोटा आफूले कुनै पनि सेटिङमा काम नगर्ने बताउँदै कर्पोरेट नेपालसँग भने ‘म कुनै सेटिङमा काम गर्दिन् । जति दिन बस्छु, इमान्दारितापूर्वक राजश्व चुहावट हुन नदिन लाग्छु ।’ देशमा छ जना सहसचिवले इमान्दारितापूर्वक काम गरे सिङगो देश नै सुध्रिने उनको विश्वास छ । सापकोटाले अनुसन्धानमा कुनै सम्झौता नगर्ने बताए । 

महानिर्देशक बनेपछि विभागमा विभिन्न पक्षसँग भेटघाटमा व्यस्त रहने विगतका महानिर्देशकहरुको शैलीलाई तोड्दै सापकोटाले सीमित र जरुरी व्यक्तिसँग मात्रै भेटघाट गर्छन् । उनले थपे, ‘यदी मेरो सरुवा भयो भने म पद जोगाउन कुनै स्थानमा जान्न । म करियर भएको सहसचिव हुँ ।’

यसैगरी, भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढा पनि भन्सार प्रणाली सुधारमा लागेका छन्। भन्सार प्रशासनको अनुभव नभए पनि बुढाले सुधारका लागि सबै काम गर्न आफ्नो टिमलाई निर्देशन दिएका छन् । उनका अनुसार अहिले विभागमा वाइडर एरिया नेटवर्क (वान) प्रणालीलाई प्रभावकारी बनाउँदा चुहावटमा कमी आएको । 

वान प्रणालीमा देशभर जाँचपास हुने सबै सामग्रीको प्रज्ञापन पत्र हेर्न सकिन्छ। अहिले यो प्रणालीबाट बढि जोखिम रहेका भन्सार कार्यालयहरुलाई निगरानीमा राखिएको छ । वान प्रणाली प्रमुखमा हाल रामप्रसाद मैनाली रहेका छन्। उनले सो शाखा संहालेदेखि राजस्व संकलनको ग्राफ पनि बढ्न थालेको छ। चालु आर्थिक वर्ष सबै शाखाबाट ३१ करोड थप राजस्व संकलन भएको छ । मैनालीले सो शाखा गत कार्तिकबाट सम्हालेका हुन् ।

कात्तिकमा थप पाँच करोड ९० लाख रुपियाँ राजस्व संकलन भएकोमा मंसिर र पुसमा चार–चार करोड रुपियाँभन्दा बढी, माघमा पाँच करोड ३१ लाख र फागुनमा सात करोड एक लाख रुपियाँ मन्सार महशुल असुली भएको छ । जबकी गएको साउनमा दुई करोड ३० लाख, भदौमा एक करोड ८६ लाख र असोजमा ८३ लाख ५४ हजार मात्रै थप राजस्व संकलन भएको थियो। 

वान शाखाबाट कडाई गर्दा कर्मचारीहरुलाई सरुवाको समेत धम्की आउने गरेको छ । स्रोतका अनुसार सो शाखाबाट व्यापारीहरुले कुन सामान कता डाइभर्ट गरिरहेका छन् ? सोको समेत रिपोर्ट बनाइरहेको छ। सो रिपोर्टका आधारमा केही उद्योगका सामग्री समेत विभागले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

भन्सार कार्यालयमा हुन थाल्यो भागाभाग
फागुन १ गते राजस्व अनुशन्धान विभागालई विशेष सूचना प्राप्त भयो । सूचना अनुसार चोभार सुक्खा बन्दरगाहबाट तीन ट्रक सामान जाँच पास हुदैछ भन्ने थियो। प्रहरीले चेकजाँच गर्दा ४ वटा भन्दा बढी गाडी भेट्यो । यसरी शसस्त्र प्रहरीको टोली चोभार पुग्दा त्यहाँका भन्सार एजेन्टदेखी सवारी चालकको समेत भागाभाग हुन पुग्यो । प्रहरीले चार वटा ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। तर कुनैपनि व्यावसायी यो मेरो सामाग्री हो भनि दाबी गर्न आएको छैन।

चोभार भन्सार मात्रै होइन । अन्य भन्सार कार्यालयहरुमा पनि अनुसन्धान विभागले चेकजाँचलाई कडाई गर्न सुरु गरेको छ। विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका गाडीहरु अनुसन्धान गरी जरिवाना लगाइरहेका छन्।     

Advertisement

Advertisement