निफ आजबाट शुरुः प्रधामन्त्री नआएपछि चलचित्रकर्मीले भने– सरकारले उपेक्षा गर्यो

Advertisement

काठमाडौं । बिहीवारबाट काठमाडौंमा छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) शुरु भएको छ । एक कार्यक्रमबीच निफ शुरु भएको हो । चैत ६ गतेसम्म सञ्चालन हुने छैटौं निफमा ५५ देशबाट आएका पाँच सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएका छन् । 

ती चलचित्रहरु चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुल्चोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ । ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन भएको छ ।  यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । 

Advertisement

उद्घाटन कार्यक्रममा आउँछु भनेर पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नआएपछि चलचित्रकर्मीहरु रुष्ट भएका थिए । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चलचित्रले एकअर्का देशबीचको संस्कृति र मित्रता बिस्तार हुने बताए । 

उनले चलचित्रको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध बिस्तार हुने बताए । राजदूत सोङले भने, ‘फिल्ममले संस्कृति र मित्रताको सम्बन्धलाई बढाउँछ । यसमा चीन पनि सहभागी हुन पाउँदा हामी खुशी छौँ । नेपाल र चीनबीचको सम्बन्ध बिस्तार हुँदै गइरहेको छ । चलचित्रको माध्यमबाट झनै जनस्तरसम्म सम्बन्ध बिस्तार गर्न सहज भएको छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्तो मेलाहरुले विभिन्न देशबीचको भाषा, संस्कृतिलाई एकअर्काबीच फैलाउन सहयोग पुग्ने बताए । उनले महोत्सवले अन्य देशको संस्कृतिका साथै प्रविधिको उच्चतम प्रयोग गर्न सहयोग पुग्ने बताए । केसीले नेपाल विदेशीहरुका लागि ओपन स्टुडियो रहेको बताए । 

उनले भने, ‘यस्तो किसिमको महोत्सवले विभिन्न देशबीचको भाषा, संस्कृतिलाई एकअर्काबीच फैलाउन सहयोग पुग्छ । हाम्रो देशको प्रविधिहरुलाई भित्र्याएर हामी विकासमा अघि बढ्न सक्छौँ । आगामी दिनमा फिल्ममा सुधार गर्नपनि यसले सहयोग पुग्नेछ । यो मेलाबाट धेरै उपलब्धि पाउनसक्छौँ । यो कार्यक्रम निरन्तर सफल हुँदै जाओस् । नेपाललाई एउटा ओपन स्टुडियोको रुपमा विदेशीहरुले लिनुभएको छ ।’

निफका अध्यक्ष केपी पाठकले यस किसिमका मेलाहरुलाई सरकारले वार्षिक कार्यक्रममा राख्नुपर्ने बताए । प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बोलाए पनि नगएपछि चलचित्र क्षेत्रले सरकारले आफूलाई साथ नदिएको अनुभुति भएको उनले बताए । 

पाठकले भने, ‘यस्ता मेलाहरुलाई सरकारले वार्षिक कार्यक्रममा राखेस् भन्ने हाम्रो आग्रह छ । कम्तिमा यहाँ सरकारको पाइला आइदिएको भए हाम्रो मेला पवित्र हुन्थ्यो की, विदेशीले हाम्रो चलचित्र क्षेत्रलाई हेर्ने नजर राम्रो हुन्थ्यो की भन्ने थियो त्यो भएन ।’

उनले सरकार अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवमा नआउनु भनेको चलचित्रप्रतिको उपेक्षा भएको बताए । 

Advertisement

Advertisement