पुनर्बीमा कम्पनीको पुँजी जति वृद्धि हुन्छ, त्यति नै विदेशीले पत्याउँछन्ः बीमाविज्ञ शर्मा

Advertisement

काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पुँजी डेढ गुणाले बढाउने नीति लिँदा पुनर्बीमा कम्पनीहरुको पनि पुँजी वृद्धिको निर्णय गर्नुपर्ने थियो भनेका छन् । 

नेपाल बीमा प्राधिकरणले मर्जरमा जान दबाब दिने उद्देश्यले बीमा कम्पनीहरुको पुँजी डेढ गुणाले बढाउनुपर्ने व्यवस्था गरेको थियो । शर्माले पुनर्बीमा कम्पनीहरुको पनि पुँजी वृद्धि आवश्यक रहेको बताए । उनले बीमा कम्पनीहरुले स्वदेशको व्यापारसँग सम्वन्ध राख्ने भए पनि पुनर्बीमा कम्पनीले सिधै अन्तर्राष्ट्रिय व्यापारमा केन्द्रित हुनुपर्ने भएकोले पुँजी वृद्धि आवश्यक रहेको तर्क गरे । 

Advertisement

हाल निजीतर्फको हिमालन पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपियाँ र सरकारी लागानीको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब २५ करोड रुपियाँ रहेको छ । 

कर्पोरेट नेपालसँगको कुराकानीमा बीमाविज्ञ शर्माले भने, ‘अहिले बीमा कम्पनीहरुको पुँजी बढाइएको छ । उनीहरुले लोकल विजनेश गर्ने हो । अब पुनर्बीमा कम्पनीहरुको पुँजी बढायो भने अन्तर्राष्ट्रिय कम्पनीले पत्याउँछन् । उसको व्यापारको दायरा वृद्धि हुन्छ । पुनर्बीमाको गहना भनेकै त्यही चुक्ता पुँजी हो । जति धेरै पुँजी हुन्छ, त्यति धेरै व्यवासय पाउने सम्भावना रहन्छ ।’ यसअघि प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले पुनर्बीमा कम्पनीको पुँजी दोब्बर गर्ने बताएका थिए । 

शर्माको भनाईः 
बीमा कम्पनीले जनताको एक एक जनाको बीमा गराएर व्यवसाय लिने हो । तर, कुनै पनि पुनर्बीमाले ती सारा जनताको बीमा गराउने कम्पनीको बीमा गर्छ । सोहीकारण बीमा कम्पनीलाई भन्दा पुनर्बीमा कम्पनीलाई चुक्ता पुँजी स्वाभाविकरुपमा नै धेरै चाहिन्छ । जति पुँजी धेरै भयो, त्यति धेरै पुनर्बीमा कम्पनी अन्तर्राष्ट्रिय बजारमा बिक्छ । बीमा कम्पनीहरुलाई पुनर्बीमा कम्पनी जस्तो अन्तर्राष्ट्रिय बजारमा बिक्ने भन्दा पनि स्वदेशमा छरिएर रहेका स–साना जोखिम उठाउनुमा धेरै फाइदा हुन्छ । 

बीमा कम्पनी र पुनर्बीमा कम्पनीलाई तुलना गर्ने हो भने कम्पनीलाई भन्दा पुनर्बीमालाई धेरै जोखिम हुन्छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो रिजर्भ राखेका हुन्छन् । उनीहरुको सबै जोखिम पुनर्बीमा कम्पनीलाई जिम्मा लगाइदिए पुग्छ । तर पुनर्बीमा भनेको अरु कम्पनीको जोखिम लिने भएकाले यो त बलियो हुनैपर्छ । कम्पनी डुब्दा पुनर्बीमाले बचाउँछ । तर, पुनर्बीमा कम्पनी डुब्यो भने जोगाउने अवस्था रहँदैन् । त्यस्तो हुनुमा डुब्न लागेको पुनर्बीमा कम्पनीलाई अरु विदेशी पुनर्बीमा कम्पनीले पनि पत्याउने कुरा हुँदैन । पुनर्बीमालाई आफै जोखिम धेरै छ । उनीहरुले विश्वको जोखिम लिने भएकाले त्यही अनुसारको सुरक्षा चाहिन्छ । 

पुँजी ह्वात्तै बढ्दा राम्रो 
अहिले पुनर्बीमा कम्पनीको पुँजी दोब्बर बनाउने कुरा आएको छ । बीमा कम्पनीहरुले जति लगानी गर्यो, त्यति नै धेरै पुनर्बीमा कम्पनीको पुँजी बढ्ने हो । अहिलेको अवस्थामा पुनर्बीमा कम्पनीले थोरै थोरै रकम मात्र चुक्ता पुँजी वृद्धि गरिरहेका छन् भने अब त्यसलाई ह्वात्तै दोब्बर गर्यो भने बीमा कम्पनी र पुनर्बीमा कम्पनीलाई फाइदा हुन्छ ।

पुनर्बीमा कम्पनीले कति जोखिम बाहिर वितरण गरेको छ ? भन्दा पनि उसले आफ्नो बचतकोष जति बलियो बनायो त्यति धेरै राम्रो हुन्छ । नेपालमा बीमा कम्पनीले लाख रुपियाँको हिसाबमा जोखिम राखे पनि विदेशी कम्पनीले करोडौं रुपियाँ बराबरको जोखिम राख्ने सम्भावना हुन्छ । 

यसको मतलब पुनर्बीमा कम्पनी जहाँ स्थापना गरे पनि उसलाई विश्व बजारको व्यवसाय गर्ने अवसर हुन्छ । त्यस्तो व्यवसाय हात पार्न कुनै पनि पुनर्बीमा कम्पनीलाई बलियो आधार भनेको उसको चुक्ता पुँजी नै हो । 

Advertisement

Advertisement