महानगरले मौखिकरुपमा दरबारमार्गको पार्किङको विकल्प दिएर हुँदैन्, लिखित चाहिन्छः कक्षपती

Advertisement

काठमाडौं । दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिकरुपमा दिएर नहुने बताएका छन् । 

उनले महानगरले दरबारमार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल, अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताए । नानसँगको कुराकानीमा कक्षपतीले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको बताए । बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने उनको भनाई छ । 

Advertisement

कक्षपतिले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको बताए । उनले दरबारमार्गको पार्किङको विकल्प निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताए । 

राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान जस्तै बनेको छ ।  दरबारमार्ग सुनसान हुनु विगत लामो समय अघिदेखि सडकको एक लेनमा सवारी पार्किङ हटाउनु प्रमुख कारण भएको व्यवसायीको दावी छ । दरबारमार्ग पैसावाल भीआईपीहरुको जमघट हुने ठाउँ पनि हो । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अहिले जे गरिरहेका छन्, त्यो राम्रैका लागि राम्रै सोचेर गरेका होलान् भन्दै कक्षपतीले तर, दरबारमार्गको पार्किङको विषयमा उनले राम्रोसँग बुझ्न नसकेको बताए । 

उनले भने, ‘जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझाएको निस्कर्ष हाम्रो हो । दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था गरेको छ भनेर मात्र पर्याप्त हुँदैन । दरबामार्गको व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन । अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो । यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्छ । अन्नपूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन । यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन ।’ 

दरबारमार्ग व्यापारीक मात्रै नभई सामाजिक केन्द्र पनि हो भन्दै उनले बालेन शाहले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो नभएको बताए । दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई र अर्कोतर्फ तनि लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर व्यवस्था गरेको जनाइएको छ । 

कक्षपतीले थपे, ‘पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन । तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरुले बुझ्न सकेका छैनौं । महानगरको निर्णय प्रविधिक रुपमा पनि राम्रो हो जस्तो लाग्दैन । दरबार मार्ग विकास बोर्डको कुनैपनि माग छैन । विगतमा एक लेनमा गर्दै आएको पार्किङ व्यवस्था निरन्तरता होस् भन्ने हो । दरबार मार्ग पसलहरु मात्रै होइन । यहाँको आफ्नै एतिहास रहेको छ । दरबार मार्ग १९६१ मा बनेको संरचना रहेको छ । दरबारमार्गमा पसलमा सामान खरिद गर्न मात्रै नभएर मनोरञ्जन, पर्यटक गन्तव्य, काठमाडौंको राम्रो डाउनटाउन भनेकै दरबारमार्ग हो । दरबारमार्गलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’ 
 

Advertisement

Advertisement