प्राधिकरणले सुरु गर्यो बीमा अभिकर्ताको अनलाइन व्यवस्थापन, अब एक बीमक एक अभिकर्ता

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक जना बीमा अभिकर्ता एउटा मात्रै कम्पनीमा आवद्ध भएर काम गर्नुपर्ने कानुनी व्यवस्थालाई अनलाइनमार्फत कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । 

बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयन अनलाइन प्रणालीमार्फत सुरु गरिएको हो । प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले अनलाइन प्रणालीमार्फत एक बीमक एक बीमा अभिकर्ताको प्रावधान कार्यान्वयन सुरु गरेको जानकारी दिए । 

Advertisement

उनले अनलाइन प्रणालीबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि उनीको परिचय रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने बताउँदै यसले अभिकर्ताको अनुगमन गर्न पनि सहज हुने बताए ।

हालसम्म एक लाख ६३ हजार ९२५ जना अभिकर्ताहरुले स्थायी लेखा नम्बरसहित आवश्यक कागजात समावेश गरी आ–आफ्नो विवरण अद्यावधिक गराएका छन् । बीमा अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएका बीमा अभिकर्ताको सङ्ख्या दुई लाख २१ हजार ८५० रहेको र ५७ हजार ९२५ अभिकर्ता अद्यावधिक प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

अनलाइन प्रणालीमार्फत इजाजतपत्र नवीकरण भएको बीमा अभिकर्ता र सर्भेयरलाई इमेलमार्फत जानकारी दिइने छ । 

Advertisement

Advertisement