सिलवाल भन्छन्– यो त मर्जर नै होइन, वास्तविक मर्जर बाँकी नै छ

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुको वास्तविक मर्जर आउनै बाँकी रहेको बताएका छन् । प्राधिकरणकै नीतिअनुसार बीमा कम्पनीहरु भकाभक मर्जरमा गएर एकीकृत कारोबार गरिरहेको बेला नियामक निकायको प्रमुखको यस्तो भनाई आएको हो । 

कर्पोरेट नेपालसँगको कुराकानीमा सिलवालले बीमा कम्पनीहरुको संख्या अझै धेरै कम गर्नुपर्ने खाँचो रहेको बताउँदै तर त्यो कुरा सफल बनाउन आफ्नो कार्यकालमा संभावना कम रहेको बताए । उनको कार्यकाल अब दुई बर्ष बाँकी छ । उनले आफ्नो कार्यकाल थपिने संभावन पनि नरहेको बताए । 
 
सिलवालले भने, ‘तपाईंहरु यसलाई नै मर्जर भयो नभन्नु न । वास्तविक मर्जर त हुनै बाँकी छ । मलाई लाग्छ, जम्मा चार–पाँच वटा बीमा कम्पनी भए मज्जाले पुग्छ । कम्पनीहरुको संख्या धेरै हुनुभन्दा पनि उनीहरुको गुणस्तर राम्रो हुनुपर्यो ।’
  
उनले छिमेकी राष्ट्र भारतको उदाहरण दिँदै थपे, ‘भारतमा पनि त बीमा कम्पनीहरुको संख्या धेरै छैन नि । भारतको अर्थतन्त्रको आकार नेपालको भन्दा धेरै गुणा ठूलो छ । त्यसैले बीमा कम्पनी मात्रै धेरै भएर बीमाको विकास हुने होइन रहेछ । बरु उनीहरुले दाबी भुक्तानी समयमा दिएका छन् कि छैनन् ? बीमितलाई राम्रोसँग सेवा सुविधा दिएका छन् कि छैनन् ? भन्ने कुरा महत्वपूर्ण हुँदोरहेछ ।’

Advertisement

सिलवालले आफू प्राधिकरणमा हुँदासम्म बीमा क्षेत्रको सुशासन र विकासको लागि काम गर्ने बताए । बीमा कम्पनीहरुको संख्या भन्दा पनि उनीहरुको आधार बलियो हुनुपर्छ भन्ने महशुस गरेर पुँजी वृद्धि र मर्जरको नीति लिएको बताउँदै उनले यो संख्या अझै घटाउनु जरुरी रहेको बताए । 

सिलवालले भने, ‘अब अथोरिटीमा कस्तो मान्छे आउँछ ? सरकारले कस्तो मान्छे पठाउँछ ? त्यसमा पनि धेरै कुरा निर्भर हुन्छ । मलाई त लाग्छ अब आउने नयाँ अध्यक्षले बीमा कम्पनीहरुको संख्या चार वा पाँच वटा बनाउन जोड दिनुपर्छ । मैले पनि जोड त गरेकै हो । तर, यती धेरै कम्पनीहरु खुलिसकेका छन् कि सबैलाई एकै पटक समेटन गाह्रो भयो । त्यसैले त मैले भनेको मर्जर त त्यस्तो मर्जर हो, जति बेला जम्मा चार–पाँच बीमा कम्पनी रहन्छन ।’
 
तत्कालका लागि १९ जीवन र २० वटा निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा लान समेत आफूले ठूलै साहस गर्नुपरेको सुनाउँदै उनले त्यसले करिब करिब पूर्णता पाएको जिकिर गरे । आगामी दिनमा बीमा कम्पनीको संख्या जति कम भयो, त्यति नै कम्पनी सुशासनमा बस्ने, उधारो बीमा कम हुने, बीमितमा विश्वास जाग्ने, नियमनमा सहज हुने, बीमाको गुणस्तर बढ्ने सिलवालको भनाई छ ।

उनले भने, ‘थोरै कम्पनी हुँदा पो कम्पनीहरु शक्तिशाली हुन्छ । धेरै भएपछि त कम्पनी होस् कि जेसुकै होस, फ्ल्फ्याले नै हुन्छ । त्यसैले बीमा कम्पनी फालाफाल भएको राम्रो होइन ।’ सिलवालले सबै प्रदेश कार्यालयहरु सरकारी जग्गामा बनाउन प्राधिकरण प्रयासरत रहेको बताए । तर त्यसका लागि सरकारले जग्गा उपलब्ध नगराएको उनले गुनासो गरे । ठाउँ ठाउँमा रहेका राष्ट्रिय बाणिज्य बैंक र सरकारी संस्थानका जग्गा खरीद गर्न खोजेको बताए । 

Advertisement

Advertisement