पूर्वअर्थमन्त्रीद्धयले दिए २७ अर्ब ६० करोड कर छुट, कस्ले कति लाभ लिए ?

Advertisement

काठमाडौं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामै विभिन्न पक्षलाई २७ अर्ब ६० करोड कर छुट दिएको पाइएको छ ।

पूर्वअर्थमन्त्रीद्धय जनार्दन शर्मा र बिष्णु पौडेलले उक्त रकम बराबरको छुट दिएका हुन् । आर्थिक ऐन २०७९ को दफा १८.२ र १८.३ बाट मात्रै तीन अर्ब १० करोड रुपियाँ कर छुट हुन गएको छ । यो भन्सार महसुलतर्फको छुट हो ।

Advertisement

आर्थिक ऐनको दफा १८.२ र ३ मा मुनाफारहीत संस्था, वैदेशिक ऋण वा अनुदानमा र लगानी बोर्डसँग सम्झौताबमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकदारको नाममा पैठारी हुने मालवस्तुको पैठारीमा दस्तुर, शुल्क, महशुल, करको दर पूर्ण वा आंशिक रूपमा छुट दिने गरिएको छ । सोही व्यवस्था अनुसार अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा १८ अर्ब आठ करोड सात लाख रुपियाँ मूल्यको वस्तु तथा सेवाको पैठारीमा तीन अर्ब १० करोड १० लाख महशुल छुट दिइएको पाइएको हो ।

आन्तरिकतर्फ साढे २४ अर्ब कर छुट
अर्थ मन्त्रालयले आन्तरिक राजस्वतर्फ साढे २४ अर्ब कर छुट दिएको छ । यो आर्थिक ऐन २०७८ र आयकर ऐन २०५८ अनुसार छुट दिइएको हो । सबैभन्दा धेरै छुट आयकर ऐन २०५८ को दफा ११ अनुसार दिइएको छ । यो दफाले १० हजार ५०८ कम्पनीलाई कर छुट दिइएको छ ।

जसअनुसार यी कम्पनीहरुको करयोग्य रकम नै ८८ अर्ब २६ करोड रहेको थियो । यो करयोग्य रकमबाट राज्यलाई २२ अर्ब ६ करोड आउनुपर्ने थियो, जसबाट १४ अर्ब ८७ करोड छुट दिइएको हो । ययसबाट राज्यकोषमा जम्मा सात अर्ब १९ करोड रुपियाँ प्राप्त भएको छ ।

यसैगरी, महानगरपालिका, नगरपालिका र उपमहानगरपालिका सञ्चालित सहकारीहरुलाई निर्धारण गरिएको कर एकाएक विना कारण घटाउँदा चालु आर्थिक बर्षको पहिलो छ महिनामै चार अर्ब १५ करोड रुपियाँ नोक्सान भएको छ । यसमा महानगरमा सञ्चालित दुई हजार ४९८, उपमहानगरपालिकामा सञ्चालित १० हजार ४१० र नगरपालिकामा १० हजार २१७ वटा सहकारीले लाभ लिएका छन् ।

आयकर ऐन २०५८ को दफा ६४ को उपदफा २ अनुसार स्वीकृत अवकास कोष आयमा ९९ करोड कर छुट दिइएको छ। यसमा ४४ वटा करदाताले सुविधा पाएका छन्। यस्तै आर्थिक ऐन २०७८ को दफा २८ को उपदफा १ बमोजिम पाँच लाख ६८ हजार ८०४ वटा करदाताले दुई अर्ब २८ करोड कर छुट पाएका छन् ।

आर्थिक ऐन २०७८ को दफा २८ को उपदफा ३ अनुसार कारोबारको आधारमा कर बुझाउने करदातालाई ७५ प्रतिशत कर छुट दिँदा ४७ करोड कर छुट दिइएको छ । यसैगरी, कोभिड छुटकै अर्को स्किममा ६६ हजार तीन करदाताले एक अर्ब १८ करोड कर छुट पाएका छन् ।

यस्तै कोभिड छुट अन्तर्गत नै होटल तथा पर्यटन व्यवसायीहरुले ५१ करोड ६७ लाख कर छुट पाएका छन् ।    

Advertisement

Advertisement