फागुनमा मात्रै रु. नौ अर्ब ७८ करोडको स्रोतान्तर र रकमान्तरको सहमति, विकास बजेटमा कटौती

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले फागुन महिनामा नौ अर्ब ७८ करोड रुपियाँ बराबरको रकमान्तर र स्रोतान्तरको अनुमति दिएको छ ।

मन्त्रालयले सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोडको स्रोत सहमति दिएको छ । यो शीर्षकमा चालु आर्थिक वर्षमा १५ अर्ब चार करोड १६ लाख रुपियाँ विनियोजन गरिएको थियो । सरकारले रासायनिक मलमा अनुदान दिने या नदिने भन्ने विषयमा टुङगो लगाएसँगै मल खरिद गर्न स्रोत सहमति दिइएको हो । यो बहुवर्षीय ठेक्काअन्तर्गत पर्दछ।

Advertisement

यस्तै आन्तरिक राजस्व विभागलाई स्टिकर खरिद गर्नका लागि चार करोड रुपियाँको स्रोत सहमति दिइएको छ । यो शीर्षकमा ४१ करोड विनियोजन गरिएको छ । विभागले भारतको विवादित कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई नौ अर्बभन्दा बढी प्रकारका स्टिकर छपाईको जिम्मा दिएको छ । मद्रासलाई भुक्तानीका लागि स्रोत सहमति पनि दिइएको छ । 

यसैगरी अर्थ मन्त्रालयको विविध शीर्षकबाट ३७ करोड ४९ लाख निकासा दिएको छ । बुटवल उपमहानगरपालिकाका अधुरा आयोजनाबाट सिर्जित दायित्व भुक्तानी गर्ने प्रयोजनार्थ शसर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण स्वीकृत वापत तीन करोड २८ लाख स्वीकृत भएको छ । उक्त उपमहानगरपालिका पूर्वअर्थमन्त्री बिष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो ।

यसैगरी ६४ लाख ८८ हजार रुपियाँ आर्थिक सहायता रकम वितरण गरेको छ । जसमा ग्यास विस्फोटमा परी घाइते बनेका नेपाली कांग्रेसमा नेता चन्द्रकान्त भण्डारीलाई ५५ लाख ८८ हजार आर्थिक सहायता दिइएको छ ।

अर्थ मन्त्रालयले एक अर्ब ६५ करोड रुपियाँ बराबरको रकमान्तर गरेको छ । प्रदेश राजधानी जोड्ने राजमार्गको स्तरोन्नतीका लागि भन्दै सूर्यविनायक–धुलिखेल र कोटेश्वर–त्रिपुरेश्वर विस्तारका लागि १५ करोड रुपियाँ रकमान्तर गरिएको छ । बुढीगण्की जलविद्युत आयोजनामा विनियोजित एक अर्ब, सुनकोशी मरिन डाईभर्सन बहुउदेश्यीय आयोजनामा रकमान्तर गरिएको छ । यस्तै, बुढीगण्डकी कै रकम काटेर ४० करोड नदी नियन्त्रणका लागि छुट्याइएको छ ।

उत्तर दक्षिण राजमार्गको एक करोड रकम काटेर मदनभन्डारी राजमार्गमा राखिएको छ।    

Advertisement

Advertisement