विश्वव्यापी मान्यतालाई कुल्चिँदै सर्भेयरबिना जोखिमांकन गर्न सकिने कानुन आउनु आपत्तिजनक

Advertisement

काठमाडौं । नेपाल सर्भेयर संघका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले नयाँ बीमा ऐनमा सर्भेयरको भूमिकालाई संकुचित गरेको भन्दै यसले सर्भेयरहरुको रोजीरोटी खोस्ने चिन्ता व्यक्त गरेका छन् । 

बीमा ऐन निकै कच्चा ढंगले जारी गरिएको उनको भनाई छ । जोशीले निर्जीवन बीमासँग सम्वन्धित् कुनै पनि घटनामा जोखिमांकन गर्ने महत्वपूर्ण जिम्मेवारी बोक्ने सर्भेयरहरुलाई नयाँ बीमा ऐनले शाब्दिकरुपमा सम्बोधन गरे पनि उनीहरुको भूमिकाको कदर गर्न नसकेको बताए । 

Advertisement

जोशीले कर्पोरेट नेपालसँग भने, ‘सर्भेयरलाई इच्छाएको व्यक्तिको जस्तो भूमिका दिइएको छ । एउटा व्यक्ति इन्जिनियर नभईकन सर्भेयर हुनै सक्दैन । सर्भेयरले गर्ने जोखिमांकन अरुले गर्नै सक्दैन । तर, बीमा ऐनमा बीमा कम्पनीहरुले चाहेको अवस्थामा मात्रै सर्भेयर खटाउने कुरा उल्लेख छ । यो हेर्दा त बीमामा सर्भेयर भए पनि हुने, नभए पनि हुने जस्तो देखियो । अण्डरराइटिङ (जोखिमांकन) त नभई नहुने कुरा हो ।’ 

नेपाल बीमा प्राधिकरणले भर्खरै थप एक हजार दुई सय इन्जिनियरलाई सर्भेयरको लाइसेन्स दिएको छ । सर्भेयर चाहिं थप्ने, तर बीमा ऐनले सर्भेयर भए पनि हुने, नभए पनि हुने भन्नु विरोधाभाष भएको जोशीको भनाई छ । छिमेकी मुलुक भारत, बंगलादेश तथा पाकिस्तानमा थोरै रकमको बीमा गरिएका दुर्घटना (रु. २० हजारसम्म)का दुर्घटनामा सर्भेयर नभए पनि कम्पनीले हेरेर बीमा दावी भुक्तानी चलन रहेको उनले जानकारी दिए । सो कुरालाई उनीहरुले कानुनमा नै स्पष्ट व्यवस्था थरे पनि नेपालको नयाँ बीमा ऐनले कस्तो दुर्घटनामा सर्भेयर नचाहिने हो ? स्पष्ट नखुलाएको जोशीले बताए । 

उनले नेपालमा भने लाखौं–करोडौंको क्षति मूल्यांकन गर्न सर्भेयर नभए पनि हुने भन्ने ढंगले कानुन जारी भएकाले सर्भेयरको भूमिका अहिले शुन्य जस्तो भएको बताए । जोशीले भने, ‘यो आपत्तिजनक कुरा हो । एकातिर जोखिम मूल्यांकन गर्ने कुरा सर्भेयर नभई हुनसक्दैन् । अर्को कुरा लाइसेन्स दिइएका सर्भेयरहरुको पेशागत अधिकारको कुरा पनि जोडिएको छ । यस्तो गम्भीर त्रुटी किन गरियो ऐनमा ?’

यता बीमा कम्पनीहरुले भने एउटा क्षेत्रको इन्जिनियरले पैसाको लागि  अर्को क्षेत्रको क्षतिको पनि मूल्यांकन गरिदिने, सममा आएर मूल्यांकन नगरिदिने, तोकिएको समयमा रिपोर्ट नदिने, आर्थिक चलखेलमा पनि कतिपय सर्भेयर संलग्न हुने गरेको बताउँदै आएका छन् । 

नयाँ बीमा ऐनको व्यवस्थाले भएका सर्भेयरहरु पनि पलायन हुने र नयाँ बन्न चाहानेलाई पनि आकर्षण घट्ने बताउँदै उनले लामो समयदेखि काम गर्दै आएका सर्भेयरहरुको योगदानको राज्यले कदर गर्न नसकेको बताए । 

जोशीले थपे, ‘ऐन जारी हुनुअघि बीमा विद्येयकमा सर्भेयरलाई ‘मध्यस्तकर्ता’ भनिएको थियो । हामीले लामो समयसम्म अर्थमन्त्रालय धाउँदा धाउँदा गरेर ‘मध्यस्तकर्ता’को ठाउँमा ‘सर्भेयर’ राख्न लगाएका हौं । नाम त राखियो । तर, ऐन जारी भएर आउँदा सर्भेयरको कुनै भूमिका नभएको जस्तो गरेर चाहेको अवस्थामा कम्पनीले खटाउने भनेको छ । अब त सबै सर्भेयरले आफ्नो लाइसेन्स बीमा प्राधिकरणमा बुझाउने अवस्था आएको मैले देखेको छु ।’

कम्पनी आफैले सर्भेयरको काम गर्दा टाठाबाठाले क्षतिभन्दा बढी भुक्तानी पाउने, सोझासाझाले न्यायोचित क्षतिपूर्ति पाउन मुस्किल हुने, क्षतिको मूल्यांकन गर्ने पक्ष नहुँदा बीमक र बीमित मिलेर बदनियमतपूर्ण तरिकाले बीमा दावी भुक्तानीको रकम लेनदेन हुने अवस्था आउने जोशीको आशंका छ  । 

यस्तो कुरामा प्राधिकरणले बेलैमा बिचार गर्नुपर्नेमा मौन बस्न आफूलाई आश्चर्य लागेको उनले बताए । जोशीले कानुन निर्माण गर्दा नै प्राधिकरणले विशेष ध्यान दिनुपर्नेमा मौन बसेको, कम्पनीहरुले चलखेल गरेर सर्भेयरको भूमिकालाई ऐच्छिक बनाएको हुनुसक्ने भन्दै बीमा कम्पनीहरुले कम रकम दिन खोज्ने र बीमितले धेरै रकम पाउन खोज्ने विवाद हुने भएकाले स्वतन्त्र रुपमा क्षतिको मूल्यांकन गर्न सर्भेयर राख्नुपर्ने विश्वव्यापी मान्यता आएको कुरालाई नेपालको बीमा क्षेत्र र राज्य प्रणालीले उपेक्षा गरेको बताए । 

Advertisement

Advertisement