सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार विहीबारदेखि, शेयर कारोबार आजबाट रोक्का

Advertisement

काठमाडौं । भोलि चैत्र ९ गतेदेखि  एकीकृत कारोबार गर्ने तयारी रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । 

सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु हुने जानकारी गराएपछि आजैदेखि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।  

Advertisement

यी दुई इन्स्योरेन्स कम्पनीहरु १ः१ शेयर स्वाप रेसियो अर्थात बराबर हैसियतमा मर्जरमा गएका हुन् । 

गत आर्थिक वर्षको अन्तिम समयमा मर्जरमा जाने पक्कापक्की गरेर प्रारम्भिक सम्झौता तय भए अनुसार रिलायन्स लाइफको तर्फबाट संचालक भरतकुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । 

गत फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थियो । बीमा प्राधिकरणले फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते एकीकृत कारोबारको लागि स्वीकृति दिएको थियो । 

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी पाँच अर्ब रुपियाँ तोकेको अवस्था छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी चार अर्ब १० करोड रुपियाँ पुग्नेछ । हाल रिलायन्स लाईफको कूल चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको कूल चुक्ता पूँजी २ अर्ब रुपियाँ छ ।   

Advertisement

Advertisement