अब वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षाको दायरामा

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । 

कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गरेका हुन् । 

Advertisement

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ । 

सो क्रममा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए । “अब दुःख दिने काम अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ”, उनले भने । गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफूले पहल गर्दै आएको पनि उनले सो अवसरमा उल्लेख गरे ।  

विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उहाँले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  

मुख्यसचिव डा शङ्करदास वैरागी गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राखे ।  अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुआत भएको बताए । उनले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताए ।  

कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उनको विश्वास छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताए । योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उनले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताए ।  

सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उनको विश्वास  छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको यस कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताए ।  

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन विशेष पहल गर्नुपर्ने बताए ।  

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी वैशाख १ देखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए ।  

हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने कोषका प्रवक्ता विवेक पन्थीले बताए । विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् । 

स्वीकृत कार्यविधिबमोजिम     वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । 

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

Advertisement

Advertisement