एनआरएनएले दशक अघिदेखि उठाउँदै आएको माग पूरा, विदेशका नेपाली श्रमिक सामाजिक सुरक्षामा

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित साजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् । 

गैरआवासीय नेपाली संघले विगत एक दशकभन्दा अघिदेखि वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा योजना ल्याउन माग गर्दै आए पनि सरकारले ढिलाई गर्दै आएको थियो । ट्रेड युनियन संगठनहरुले विगत दुई दशकदेखि उठाउँदै आएको श्रमिकहरुको सामाजिक सुरक्षा योजना लामो समयको दबाबपछि चार बर्षअघिदेखि सुरु भएको हो । 

Advertisement

सामाजिक सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने लागेको हो । श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिन्छ । 

कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आवद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई  तीन अर्ब ८१ करोड रुपियाँ दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । यो योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ । 
 

Advertisement

Advertisement