रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन  चैत्र ११ र १२ गते काठमाडौंमा हुँदै

Advertisement

काठमाडौं । नेकपा (एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । 

फेडेरेसनले काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । 

Advertisement

बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते लर्ड पार्टी भेन्यूमा बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने जानकारी गराएको हो । 

विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको फेडरेसनले २०७८ साल पुस १६ गते चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । 

हालसम्म ५ वटा प्रदेश समिति, ५८ वटा जिल्ला समिति र पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको फेडरेसनका उपमहासचिव जेपी सापकोटाले जानकारी दिए । 

उक्त महाधिवेशनमा देशभरीका चार सय प्रतिनिधिको उपस्थिति रहने छ । संगठनले उद्यमशीलता र रोजगारीको अवस्था सिर्जना गर्नका लागि सहजीकरणको काम गर्ने अध्यक्ष रोकायाले बताए । पुस्तौंपुस्तासम्म विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न संगठन क्रियाशील रहेको उनले बताए । 

उक्त महाधिवेशनमा अधिकार सम्पन्न सरकारी संरचना स्थापनामा पहल र पैरवी गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा रिटर्नी लक्षित कार्यक्रमहरुमा सहभागी गराउने, स्थानीय स्तरमा रहेका रिटर्नीहरुको दक्षता अभिबृद्धि गर्ने योजनाहरुमा माथि छलफल गरिने छन् । 

रिटर्नीहरुको तथ्याङ्क संकलन गरी उनीहरु के कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएसम्म योजना बनाउन नसकिने भएकाले त्यसतर्फ विशेष ध्यान केन्द्रित गर्ने पत्रकार सम्मेलनमा बताइयो ।  

Advertisement

Advertisement