सानिमा रिलायन्स लाइफको एकीकृत कारोबार शुरु, सीईओमा पाण्डेको ‘इन्ट्री’

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई एकसाथ निर्देशन दिएसँगै अधिकांश बीमा कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् । 

चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र  रिलायन्स लाइफले जीवन बीमातर्फ इतिहास रच्दै आजैबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।

Advertisement

जीवन बीमाको सबैभन्दा ठूलो मर्जर बिग मर्जरको रुपमा यूनियन लाइफ, प्राईम लाइफ र गुँराश लाइफले मर्जरको प्रारम्भिक सम्झौता गरे पनि एकिकृत कारोबार बैशाख दोस्रो सातादेखि हुने तयारी गरिएको छ ।

मर्जर प्रक्रियामा एउटा कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अर्को कम्पनीबाट संचालक समिति अध्यक्ष हुने गरी समझदारी भइरहेको छ । तर, सानिमा रिलायन्स लाइफको हकमा भने त्यस्तो हुन सकेन । 

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सानिमा लाइफका सीईओ अगम मुखियाले सिईओको जिम्मेवारीमा नबस्ने र रिलायन्स लाइफका सीईओ राकेश पोखरेलले सिनियर डिसीईओ बस्न प्रस्ताव गरेसँगै कम्पनीबाट नयाँ सीईओको प्रस्ताव आएको बताए । सोही कारण केही वर्ष अघि सूर्या लाइफको सीईओबाट बाहिरिएका शिवनाथ पाण्डेले सानिमा रिलायन्सको नेत्तृत्व गर्ने सहमति भइसकेको छ । बीमा क्षेत्रमा प्रवेश गर्नु अघि पाण्डे नेपाल राष्ट्र बैंकमा लामो समयसम्म कार्यरत थिए । 

कम्पनीको अध्यक्षमा रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडिया चयन भएका छन् । उनले आजै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । 

बीमा प्राधिकरणका अनुसार सानिमा लाइफ र रिलायन्स लाइफले एकै समयमा लाइसेन्स पाएको र दुवै कम्पनीका सूचकहरु पनि समान रहेकाले  १ः१ (एक बराबर एकको अनुपात) को शेयर स्वाप रेसियोमा  मर्जरमा जान समेत स्विकृती दिइएको छ ।  

यस्तो हुनेछ नयाँ कम्पनी
आजबाट एकीकृत कारोबार सुरु गरेको सानिमा र  रिलायन्सले गत आर्थिक वर्षको अन्तिम समयमा आएर मर्जरको सहमति जुटाएका थिए । गएको असार २९ गतेमा मर्जरमा जान पक्कापक्की गरिसकेका यी कम्पनीहरुले एकीकृत कारोबार लागि भने करिब डेढ महिना अघि अनुमति पाएका हुन् । 

बीमा प्राधिरणले पाँच अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पनि मर्जरपछि यी कम्पनीहरुको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपियाँ हुनेछ । बाँकी पुँजीका लागि कम्पनीले अन्य विकल्प अपनाउनु पर्ने देखिन्छ ।

मर्जरपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपियाँ बराबरको हुनेछ । त्यस्तै, जगेडा कोष ७७ करोड ५९ लाख हुनेछ । 

सनिमा रिलायन्सका सीईओमा प्रस्ताव भएका शिवनाथ पाण्डेले कर्पोरेट नेपालसँगको कुराकानीमा बीमा क्षेत्रका शुभ चिन्तकहरुको आशा पूरा गर्न आफू यही क्षेत्रमा फर्किन लागेको र सीईओको लागि प्रयासरत रहेको बताएका थिए ।

Advertisement

Advertisement