जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८

Advertisement

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बर्ष भएको राष्ट्रिय जनगणनाको नजिता सार्वजनिक गरेका हुन् । 

यसअघि जनगणनाको प्रारम्भिक नजिता सार्वजनिक गरिएकोमा अहिले अन्तिम नजिता सार्वजनिक गरिएको हो । तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ ।  काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको छ । 

Advertisement

त्यस्तै, जनसंख्या वृद्धिदर बढी भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको छ । जनगणनामा यसअघि जस्तै पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । जसमध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ छ भने महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

प्रतिशतका आधारमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेका छन् । यसबाहेक यौनिक अल्पसंख्यकको संख्या दुई हजार ९२८ (०.०१ प्रतिशत) रहेको छ । 
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत गत बर्ष २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ । 

यस अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ । यसअघि २०६८ सालको जनगणनामा यस्तो वृद्धिदर १.३५ प्रतिशत प्रति वर्ष थियो । यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । 

सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा पाँच हजार १६९ जना प्रतिवर्ग किलोमिटर र सबै भन्दा कम मनाङ जिल्लामा ३ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

यस जनगणनाअनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७  छन् । यीमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार छ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ । २०६८ सालको जनगणनामा यस्तो औसत ४.८८ जना रहेको थियो ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत पहाडमा ४०.३१ प्रतिशत र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत रहेको छ । 

Advertisement

Advertisement