तामा, चुनढुङगा खानी ठेक्कामा लगाउँदै खानी विभाग, करिब ६ करोड राजस्व संकलन हुने

Advertisement

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरको खानीहरु ठेक्कामा लगाउने भएको छ । विभागले देशभरका ९ स्थानको खानी ठेक्कामा लगाउन लागेको हो ।

९ स्थानमा रहेको खानी उत्खननका लागि विभागले बोलपत्र आव्हान गरेको छ । यो बोलपत्रबाट विभागले कम्तिमा ५ करोड ९० लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

विभागले सार्वजनिक सूचना जारी गर्दै सल्यान, धादिङ, मकवानपुर, खोटाङको हलेसी, उदयपुरको त्रियुगा, बैतडीका भिन्न भिन्न दुई स्थानमा र गोरखाको बारपाकमा खनीज उत्खनन गर्न ठेक्का लगाउन लागेको हो ।

देशका विभिन्न भागमा रहेका चुन ढुंगा तामा, डोलोमाइट म्याग्नेसाइट, फस्पोरस, फस्फोराइट लगायतका खनिज पदार्थहरुको उत्खनन् गर्न अनुमति दिन लागिएको हो ।

विभागले अनुमति दिएका खानीमध्य चुन ढुंगाका २ वटा, तामाका ३ वटा, फस्फोराइटका २ वटा, म्याग्नेसाइटको एउटा र डोलोमाइटको एउटा रहेका छन् ।

सूचना अनुसार खोटाङको हलेसीमा डोलोमाइटको खानी ८.२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यो खानीबाट खनिज पदार्थ उत्खनन् गर्न इच्छुकले व्यक्ति तथा कम्पनीले कम्तिमा १ करोड ५५ लाख रुपियाँमा बोलपत्र पेश गर्नुपर्छ ।

धादिङमा रहेको १२ वर्ग किलोमिटर क्षेत्रमा रहेका तामाखानीबाट तामा उत्खनन् गर्न चाहने ३९ लाख रुपैयाँ र मकवानपुरमा रहेका १२ वर्ग किलोमिटर क्षेत्रमा रहेका तामाखानीबाट तामा उत्खनन् गर्न चाहनेले १२ लाख ७० हजार रुपैयाँ न्युनतम दरभाउ गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस्तै उदयपुरको त्रियुगामा रहेको म्याग्नेसाइटको खानीबाट खनिज पदार्थ उत्खनन् गर्नका लागि न्युनतम ८७ लाख रुपियाँ रकम बोलकबोल गर्नु पर्नेछ।

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको ५ वर्गकिलोमिटर क्षेत्रफलबाट चुन ढुंगा उत्खनन् गर्नका लागि इच्छुक व्यक्ति तथा कम्पनीले कम्तिमा ९० लाख ८० हजार रुपैयाँ रकममा ठेक्का लिनुपर्ने खानी विभागले जनाएको छ ।

बैतडीका भिन्न भिन्न दुई स्थानमा ८ वर्ग किलोमिटर र ५ वर्गकिलोमिटरमा फैलिएका रहेका फस्फोराइट खानीबाट उत्खनन् गर्न इच्छुक कम्पनीले ६७ लाख र २७ लाख रुपियाँ न्युनतम बोलपत्र आह्वान गर्न सक्नेछन् ।  भुकम्पको  गोरखाको बारपाकमा लगभग ६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तामाखानीबाट तामा उत्खनन् गर्ने इच्छुक कम्पनीले न्युनतम १७ लाख ८० हजार रुपैयाँ कबोल गरेर बोलपत्र पेश गर्न सक्ने खानी विभागले जनाएको छ ।

इच्छुक कम्पनीहरुले सम्भाव्य अनुमति पत्रका लागि १५ हजार रुपैयाँ र उत्खनन् अनुमतिका लागि २५ हजार रुपियाँ  तिरेर यो प्रक्रियामा सामेल हुन सक्नेछन् । विभागले सूचना प्रकाशित भएको मितिले ६० दिन भित्रमा आवेदन दिनुपर्ने गरी फागुन १४ गते सार्वजनिक सूचना विभागले प्रकाशित गरेको हो ।

 

Advertisement

Advertisement