तापक्रमको हिसावले बस्न नेपाल स्वर्ग होः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको शनिबार राजधानीमा आयोजित आफ्नै पार्टीसम्वन्धी एक कार्यक्रममा उनले बताएका हुन् । 

ओलीले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै उनले त्यसलाई मुलुक निर्माणको काममा लगाउन जरुरी रहेको बताए । 

Advertisement

नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने ओलीले बताए । उनले भने, ‘तापक्रमको हिसावले, बसाईको हिसावले नेपाल स्वर्ग हो । कामको हिसावमा हामी विदेशमा जानु परेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किदा केही ज्ञान, केही सिप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । गाउँका खेत उस्तै छन । अझ बाँझा । बारी उस्तै छन । अझ बाँझा । अझ रुखा भएका हुन्छन । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहीनताको स्थिति । यस्तो स्थितिमा मान्छे एक्लो महसुस गर्छ ।’ 

ओलीले थपे, ‘विदेशबाट फर्किएकाहरुको बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन् । समाधान मिलेर गर्नु पर्छ । यहाँ साम्प्रदायिकताको ठाउँ छैन । साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन । कि हामी पूर्वको होस कि पश्चिमको । उत्तरको होस कि दक्षिणको । निर्माण कार्यमा होस कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भएपनि संगठित ढंगले सामूहिक रुपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनु पर्दछ । र, हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरु स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नु पर्दछ भनेर तपाईहरुले संगठन बनाउनु भएको छ ।’

Advertisement

Advertisement