नयाँ आईजीपीलाई दर्ज्यानी चिन्ह, प्रहरी कस्तो छ ? भन्नेकुरा लुकाउनु जरुरी छैन्ः कुँवर

Advertisement

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आइतबार उनलाई गृहसचिव विनोद सिंहले आईजीपीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । 

कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह प्रदान गरेपछि गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताए । 

Advertisement

उनले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गर्दै समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए । 

नवनियुक्त कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए । 

प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको कुँवरले बताए । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाए । कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाए । 

उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने बताए । कुँवरले भने, ‘नेपालको संविधानले मार्ग निर्देशन गरेको विधिको शासन र मानव अधिकारको प्रत्याभुति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सद्भावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलकासाथ कर्तव्यनिष्ठ छ । राज्यको अभिन्न अंग नागरिकका हरेक दुःखको प्रथम र प्रत्यक्ष साक्षी सरकारको सर्वाधिक पहुँच भएको देशभर कम्तिमा पनि २५ सय प्रहरी निकायहरुमार्फत सेवा प्रवाह गर्दै आएको राज्यको पहिलो अनुभुति दिलाउने र नेपाल प्रहरी संगठनको व्यावसायिक सक्षमता अभिवृद्धिमार्फत लोककल्याणकारी राज्यले निर्दिष्ट गरेका लक्ष्यहरुको प्राप्तिका मार्गहरु सहज हुने र यसले अन्ततोगत्वा आम नागरिकमा राज्यप्रतिको भरोसा र विश्वासका थप प्रगाढता वृद्धि हुनेछ ।’ 

उनले थपे, ‘प्रहरी कस्तो छ ? भन्नेकुरा लुकाउनुपर्ने आवश्यकता छैन् । यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन् । प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन् । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन् । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन् । अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’ 

Advertisement

Advertisement