संघीयताप्रति वितृष्णा चुलिनु यो राजनीतिक प्रणालीको असफलताको पहिलो खुडकिलो होः कोइराला

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

आईतबार संसदमा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए । कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भीर छलफल गरेको बताउँदै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने बताए । 

Advertisement

उनले भने, ‘अब हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिकका चिन्तालाई सम्बोधन गर्न अगाडि बढनुको विकल्प छैन । हाम्रा आफ्नै विगतमा कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुडकिलो हो भन्ने मलाई लाग्छ । सम्मानित संसद समक्ष म मेरो विचारहरु राखिरहँदा मेरो आँखा अगाडि गत निर्वाचनमा लामवद्ध भएर भोट हालिरहेका सधै मलको अभावबाट पीडित किसानहरुको अनुहार अगाडि आउँछ । लाखौं युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि मलेशिया र खाडीका तातो भूमिहरुमा गएका दृष्यहरु नाँच्दछ । राम्रो शिक्षा र रोजगारीको खोजिमा पश्चिम युरोप, अष्ट्रेलिया, अमेरिकालगायतका संसारका कुनाकुनामा जान ज्यान फालेर लागेका युवाहरुको अनुहार अगाडि आउँछ । यिनीहरुलाई केन्द्रमा राखेर हामी हाम्रो सम्पूर्ण अर्थ राजनीतिको नयाँ पैया सुरु गर्न कहिलेबाट सुरु गर्ने हो ? आजको मूल प्रश्न यही हो भन्ने मलाई लाग्दछ ।’ 

कोइरालाले थपे, ‘गत केही महिनादेखि देशका मूर्धन्य अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी, उत्पादनका क्षेत्रमा लागेका साना, ठूला अनेक समूहसँग अन्तरक्रिया गर्ने मौका पाए । छलफलका क्रममा उहाँहरुका समस्याका बारेमा भर मग्दुर बुझने प्रयास गरेँ । सबै राजनीतिक दल र सरकार मेरो विनम्र अनुरोध छ–देशको सवल अर्थतन्त्रका लागि समयसमयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरुले बुझाएका प्रतिवेदनहरुलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अगाडि बढौं । नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रर्दशन गरेर पुग्दैन । सम्पूर्ण मन्त्रीमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न सक्नु पर्दछ । समाजवाद भ्रष्टाचारको जगबाट आउँदैन । समन्यायिक समाज बनाउन उस्तै खालको विचार र दृष्टिकोण चाहिन्छ । साझा संकल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी छ । विश्वबाट लगानीका अवसरहरु नेपाल भित्र्याएर रोजगारीको अवसर सृजना गर्न सम्भव हुन सक्छ । विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ । हामो देशले पनि युरोप र अमेरिकाजस्ता देशहरुले भोग्नु परेको बैकिङ संकट भोग्न नपरोस भन्नका निम्ति अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ, विशेषज्ञको सल्लाहबाट अगाडि बढन म अनुरोध गर्दछु । राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपछि सवल अर्थतन्त्र धराशायी बन्न समय लाग्दैन । त्यसैले अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुले विधिबाट होइन । दीर्घकालीन रुपबाटै निकास निस्कने गरी सरकारले काम गरोस् ।’

नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढनुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढन पनि सरकारलाई सचेत गराए । 

Advertisement

Advertisement