मेरो मुखबाट ‘अर्थ’ पनि निस्किएको छैन्, ‘गृह’ पनि निस्किएको छैन्ः माधव नेपाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन् । 

आईतवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए । सरकारको साझा नीति तथा कार्यक्रमा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने माधव नेपालको भनाई छ । 

Advertisement

उनले भने, ‘आज बल्ल हामी अहिलेको सरकारको जुन नितिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडी सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नितिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’

माधव नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । परराष्ट्र मन्त्रालयमा पनि काबिल व्यक्तिलाई जिम्मेवारी दिन आफ्नो सुझाव रहेको नेपालको भनाई छ । 

माधव नेपालले भने, ‘मेरो मुखबाट त कहिलेपनि गृह पनि निस्किएको छैन । अर्थ पनि निस्किएको छैन । निस्किएको छ, अर्थ निस्किएको छ । परराष्ट्र निस्किएको छ । तर हाम्रो निम्ति होइन । मैले के भनेको छु भने अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस्, जसले देशको अर्थतन्त्रका समस्याहरुलाई राम्ररी बुझ्न सकेको छ । र समस्याको कारणहरु पत्ता लगाउन सक्दछ । र यसको समस्या दिनसक्छ । त्यस्ता व्यक्तिलाई खोजेर मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी दिनुहोला है भनेर मैले उहाँलाई सुझाव दिएको छु । परराष्ट्र मन्त्रालयको पनि मैले त्यस्तै सुझाव दिएको छु कि हाम्रो देशको सामु थुप्रै चुनौतिहरु छन् । अन्तर्राष्ट्रिय परिस्थिति धेरै जटिल छ । यो सबै सन्दर्भमा हाम्रो देशको महत्वपूर्ण भुमिका हुने भएकाले त्यस कार्यमा पनि काबिल मान्छेको खोजी गरेर जिम्मा दिनुहोला । यो, उ, फलाना मैले केही पनि भनेको छैन ।’
 

Advertisement

Advertisement