मन्त्रालय फेर्न लागेका श्रेष्ठ भन्छन्– आठ महिनापछि ‘ट्रायल’ दिएको तीन दिनमै लाइसेन्स पाइन्छ

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी  श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले तीन दिनमा लाइसेन्स पाउने दावी गरेका छन् । 

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको आठ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने दावी गरेका हुन् । 

Advertisement

सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको बताउँदै श्रेष्ठले हरेक दिन दैनिक ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको स्वीकार गरे । 

उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी दिए । मन्त्री श्रेष्ठले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको बताए । उनले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको बताए । 

मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्ने बताए । उनले भने, ‘विगतमै पेन्डिङ रहेका आठ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ । यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य शुरु भएको छ । आठ महिनापछि तीनदेखि सात दिनभित्र सेवाग्राहीले लाइसेन्स पाउँछन् । मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइन्छ । मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको हो । प्रधानमन्त्रीज्युसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको छ । अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्छ ।’ अहिले लाइसेन्स पाउन सेवाग्राहीले महिनौ कुर्नुपर्ने बाध्यता छ ।’

श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरे । तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो ? भन्ने प्रश्नमा गृहमन्त्री बन्ने कुरा आफ्नो चाहनामा नहुने, प्रधानमन्त्रीको निर्णय मान्ने बताए । उनले छिटै मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।  

भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने बताएको जानकारी दिए । उनले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताए । 

Advertisement

Advertisement