व्यवसायीको गुनासो– सामान बिक्दैन, उधारो उठ्दैन, कसरी आयकरको किस्ता हाल्ने ?

आर्थिक मन्दीले गर्दा व्यवसायीले कर तिर्न नसकेको बेला चैतमा ८३ अर्ब उठाउने सरकारी लक्ष्य

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले चैत महिनामा ८३ अर्ब ७५ करोड २३ लाख राजस्व असुल गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । बढ्दो आर्थिक मन्दीसँगै व्यवसायीहरुले कर तिनै छोडेको बेलामा सरकारले राजस्वको ठूलो लक्ष्य राखेको हो ।

बढ्दो बैंकको ब्याजदर र आर्थिक मन्दीले व्यापार व्यवसायमा ह्रास आएपछि उद्योग व्यवसायको कर बक्यौता बढ्दै गएको छ । बक्यौता बढेसँगै सरकारले ताकेता गर्न थालेपछि उनीहरु यतिबेला दबाबमा छन् । 

Advertisement

चैत महिना आयकरको दोस्रो किस्ता तिर्ने महिना हो । व्यवसायीले चैत मसान्तभन्दा अघि नै अनुमानित आयकरको ७० प्रतिशत बुझाउनु पर्नेछ। पुस महिनामा बुझाएको ४० प्रतिशत र चैत महिनाको ३० प्रतिशत गरी ७० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने हुन्छ । यो रकम नबुझाए १५ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने हुन्छ । तर यो बर्ष धेरै व्यवसायले दोस्रो किस्ता तोकिएबमोजिम नतिर्ने संभावना देखिएको छ । 

आन्तरिक राजश्व कार्यालय पुतलीसडकअन्तर्गत कर बुझाउने १४५ वटा व्यवसायिक फर्मको मूल्य अभिवृद्धि कर (भ्याट)वापतको कर बक्यौता ३० करोडभन्दा धेरै पुगेको छ । यस्ता अन्य कार्यालयमा पनि बक्यौता बढ्दै गएको विभागले बताउँदै आएको छ । यही बेलामा आयकरको दोस्रो किस्तामा लाग्ने रकम बाँकी नराखिकन दाखिला गरिदिन कर कार्यालयले करदातालाई फोन गर्न थालेका छन् । अहिले आयव्यय विवरणबाट कुन करदाताको कति आयकर तिर्नुपर्छ ? हिसाब सजिलै कर अधिकृतले निकाल्न सक्छन्  ।

यसै आयव्यय विवरणका आधारमा कर कार्यालयले ताकेता सुरु गरेको हो । तर व्यवसायीहरु भने सामान नबिकेर हैरानी खेप्दै आएका छन् । अहिले बजारमा मागको निकै कमी छ । कम ब्याजदर हुँदा बनाएको व्यवसायिक योजनाले काम गरिरहेको छैन् । आर्थिक गतिविधि कम हुँदा र आम्दानीमा कमी आउँदा धेरै उद्योग व्यवसाय सुस्ताएको अवस्था छ । 

सिमेन्ट उद्योग इतिहासमै कठिन अवस्था रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा बताउँछन् । उनले भने ‘सिमेन्टको बजार अहिले निकै नाजुक अवस्थामा छ । अब आयकरको दोस्रो किस्ता दाखिला गर्ने महिना समेत आयो । धेरै व्यवसायीलाई आयकरको दोस्रो किस्ता बुझाउन कठिन छ ।’

थापाका अनुसार विकास निर्माणको काम सुस्त हुँदा सिमेन्टको माग घटेको हो । सर्वसाधारणलाई घर बनाउन बैंकले ऋण समेत दिएको छैन् । अवस्था यही रहे यो महिना धेरै व्यवसायीले आयकरको किस्ता बुझाउन नसक्ने थापाको विश्लेषण छ ।

सिमेन्ट मात्रै नभई छड व्यवसायीहरु पनि संकटमा छन् । यसैगरी, गाडी व्यापारीहरु महंगो भन्सार महशुल तिर्ने पैसा नभएर भन्सार र्याड मै महंगो पार्किङ शुल्क तिरेर गाडी नै नछुटाइ बसिरहेका छन्। सरकारले नियमित कर वृद्धि गर्दा मदिरा उद्योगी पनि समस्यामा छन् ।  समग्र आर्थिक चक्रमै समस्या देखिँदा व्यवसायीहरुमा उधारो नउठ्ने अर्को समस्या थपिएको एभरेष्ट प्यारेन्टेरेल्सका प्रमुख 
कार्यकारी अधिकृत (सीईओ) उमंग रानासरियाले बताए । उनले भने, ‘हामीले व्यापारको योजना बनाउँदा एक सय दिनमा उधारो उठ्छ भन्ने अनुमान गरेका हुन्छौ, तर अहिले २५० दिन त यत्तिकै जान थालिसक्यो ।’

समयमै उधारो नउठ्दा कर्मचारीको सेवा सुविधा र कर वापतको रकम दाखिला गर्न असहज भइरहेको औषधि व्यवसायी रानासरियाको भनाई छ । उधारो नउठ्नु समग्र व्यवसायीहरुमा ठूलो रोगको रुपमै विकास हुन थालेको छ। उधारो नदिँदा व्यवसाय गर्न कठिन र उधारो दिँदा ऋण नउठ्ने तनाव व्यवसायीहरुले झेलिरहेका छन् । 

चैत महिनामा ठूला करदाता कार्यालय अन्तर्गतका ५६० करदाताबाट मात्रै ३७ अर्ब ३१ करोड राजस्व संकलनको लक्ष्य छ । यद्यपी यो लक्ष्य पूरा गर्न कार्यालयलाई निकै कठिन छ । ठूला करदाताहरुमध्ये केही कम्पनीबाहेक सबै कम्पनीको कारोबारमा गिरावट आएको छ । कार्यालयका एक कर्मचारीले भने, ‘अहिले बैंक तथा वित्तिय संस्थाको कर दाखिला केही राम्रो देखिएको छ सो बाहेकका क्षेत्रको व्यापार घटेको विवरण पेश भइरहेको छ।’

कार्यालयले १०५ करदाताको फुल अडिटको काम पनि अघि बढाइसकेको छ । कर संकलनको दरलाई बढाउन कार्यालयले कडाईका साथ फुल अडिटलाई अघि बढाएको हो ।

यसैगरी मध्यमस्तरीय करदाता कार्यालयबाट पाँच अर्ब ५५ करोड राजस्व उठाउने लक्ष्य लिइएको छ । 

Advertisement

Advertisement