आज पनि मिटरब्याज पीडितको आन्दोलन जारी, रवि लामिछाने भन्छन्– समाधान गर्न गाह्रो छैन्

Advertisement

काठमाडौं । न्याय माग्न राजधानी आएका मिटरब्याजी पीडितहरुले आज मंगलबार पनि बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् । उनीहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । 

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन् । 

Advertisement

पीडितहरु खुलामञ्चमा बस्नको लागि आए पनि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमवार रात बिताएका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर बिरोध गरेका छन् । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितको आन्दोलनलाई समर्थन जनाएका छन् । सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने उनको भनाई छ । 

लामिछानेले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए । गृहमन्त्रीसमेत भइसकेका उनले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । 

लामिछानेले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए । उनले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्न नहुने बताए । लामिछानेले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताए । 

उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने बताए । मिटरब्याज पीडितहरुको बिरोध प्रदर्शनमा लामिछानेसहित उनको पार्टीका अन्य नेता सहभागी थिए । 

Advertisement

Advertisement