कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् । 

मंगलवार चलचित्र विकास बोर्डले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रविधिका कारण सहज भएको तर समस्या पनि बढिरहेको बताए । प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको केसीले बताए । 

Advertisement

उनले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको बताए । साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने केसीको भनाई छ । उनले नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको बताए । 

केसी, ‘प्रविधिका कारण हामीलाई दर्शकसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौति सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्सान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ ।’

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए । उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटकबाट नै सार्वजनिक हुने गरेको बताए । 

खड्काले यसरी अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताए । 

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्ने बताए । उनले नेपालमा बन्ने चलचित्रहरुको स्वीकृति लिने मापदण्ड बनाइ अघि बढ्न सुझाव दिए । 

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याइँ गर्ननहुने बताए । उनले साइबर अपराधलाई कम गर्न दर्शकहरुलाई सचेतना जगाउन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement