फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल सञ्चारका माध्यम नभएको ओलीको दावी

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सञ्चार माध्यामहरुलाई यूटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् । 

एक टेलिभिजनको कार्यक्रममा बुधबार उनले फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल सञ्चारका माध्यम नै नभएको जिकिरसमेत गर्न भ्याए । ओलीले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल बे्रकिङ न्यूजको सम्भावना नरहेको तर्क गरे । 

Advertisement

नयाँ–नयाँ प्रविधि भित्राउन र टिमवर्कमा काम गर्न समाचार माध्यामहरुलाई सुझाव दिँदै उनले विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यमहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताए । नेता ओलीले भने, ‘अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरु अत्यन्तै विकास भइरहेका छन । टेलिभिजनहरु एउटा कुरासँग अलि हच्किएको देख्छु– यूटुवसँग, के सँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग । त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरुले बनाउने हो । त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो । अर्गानाइज वे मा चलेको हुँदैन । त्यसकारण उनीहरुसँग वाईड इन्फरमेशन, इमिडियड इन्फरमेशन, फ्रेस इन्फरमेशन, वास्तवमा न्यूज बे्रकिङ उनीहरुबाट साधारणतया सम्भावना कम हुन्छ । किनभने कहाँ, के भएको हुन्छ ? उनीहरुको नेटवर्किङ त्यति हुँदैन । त्यसकारण यसको त नेटवर्किङ हुन्छ । नेटवर्क विस्तार गरौं । नयाँ प्रविधि भित्राऊँ ।’

ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यमहरुको विकासले गति लिएको पनि दावी गरे । त्यसअघि नेपाल टेलिभिजनलगायत निजी क्षेत्रबाट थुप्रै साप्ताहिक, मासिक पत्रपत्रिका प्रकाशन हुने गरेको कुरालाई उनले उल्लेख गरेनन् । 

Advertisement

Advertisement