युवकको पेटबाट रक्सीको बोतल निकालियो

Advertisement

चितवन । साथीहरुले मलद्वारबाट रक्सीको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका( ९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफैं हिंडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. राजेश यादवले बताए ।

Advertisement

युवकको आर्थिक अवस्था निकै कमजोर भएकाले केही रकम छुट गराएर उपचारमा सहयोग गरेको अस्पतालका डा. यादवले जानकारी दिए । उनले भने, ‘हामीलाई पनि चुनौतीपूर्ण केस थियो यो । उनीहरुको आर्थिक अवस्था सबै बुझ्दा निकै कमजोर जस्तो लाग्यो । उनी हाम्रो उपचार सेवाबाट ज्यान बचेकोमा खुसी छन्, हामी पनि खुसी छौं, त्यसैले अस्पतालले केही उपचार खर्च छुट गरिदिएको छ ।’

घर फर्किनुअघि कुरा गर्दै नुर्साद मन्सुरीले आफ्नो ज्यान जोगाइदिने चिकित्सक टोलीप्रति आभार व्यक्त गरे । मन्सरी भन्छन्, ‘अहिले म ठिक भएको छु, बोल्न, हिँड्न सक्ने भएँ । उपचार नपाएको भए मरिसकेको हुने थिएँ ।’

कसरी भयो घट्ना ? 
रौतहटको गुजरा नगरपालिका ९ का २६ वर्षीय नुर्साद मन्सुरी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका छन् । घरमा बुबा, आमा, श्रीमती र एक सन्तानलाई त्यही पेशाबाट पाल्दै आएका छन् । 

ट्याक्टरमा केही समस्या आएकै कारण उनी दुई किलोमिटर पर चोकतिर मर्मत गर्न निस्के । त्यहीं उनका साथी नसिम भेट भए । उनीसँग अर्का एक जना युवक पनि थिए, जो वाइरिङको काम गर्थे । साथीहरूले मन्सुरीलाई ‘माल’ खान जाम भने ।

सधैं भेट भइरहने, सँगै खाजा पनि खाने साथीको आग्रहलाई मन्सुरीले नकार्न सकेनन् । त्यसपछि नजिकै रहेको खोला किनारको एक घरमा खाजा खान पुगे । त्यहाँ उनका साथीले चिसो डीउ (हल्का पेय पदार्थ) खान दिए र भने, ‘यो सबै नखानु । आधा जति खानु । बाँकी छाड्दिनु ।’ 

मन्सुरीले साथीले भनेको भन्दा केही बढी खाए । त्यो खाएको आधा घण्टापछि उनको शरीर शिथिल हुँदै गयो । ‘के गरौं, कसो गरौं ? जस्तो भएर गर्मी हुन थाल्यो,’ मन्सुरी भन्छन्, ‘साथीहरूले शीतल छहारीमा एक छिन सुत्न भने । म त्यहीं सुतें ।’

बेहोस जस्तै भएको बेलामा कसैले आफ्नो पाइन्ट खोलेको जस्तो भेउ पाए । तर कुनै प्रतिक्रिया जनाउनसक्ने अवस्थामा उनी थिएनन् । उनका दुई साथीहरूले त्यहीं बसेर रक्सी खाए र खाएको रक्सीको बोतल भने मन्सुरीको मलद्वारबाट घुसाइदिए । 

केही घण्टापछि होस आउँदा पेट निकै दुखेको महशुस भएको मन्सुरी सुनाउँछन् । तर के भएको हो ? उनलाई थाहा भएन । बल्लतल्ल साथीहरूको ग्यारेजसम्म आए । मोटरसाइलमा घरसम्म पुर्याइदिन आग्रह गर्दा कसैले मानेन् । बल्लतल्ल आफैं उनी घरमा पुगे ।

पेट निकै दुखेको बताएपछि उनका बुबा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खान दिए । त्यसले ठीक नभएपछि उनलाई भोलिपल्ट उपचारका लागि रौतहटकै चन्द्रपुर अस्पताल भर्ना गरियो । 

त्यहाँका चिकित्सकले पेटको एक्सरे गर्दा रक्सीको बोतल देखे । पाइन्टको खल्तीमा रक्सीको बोतल राखेको छ कि ? भनेर छामछुम पनि गरे । तर, पाएनन् । फेरि एक्सरे गरेर हेर्दा पेटभित्र नै रक्सीको बोतल रहेको पाइएपछि चकित परे ।

त्यसपछि मन्सुरीलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पुर्याइयो । जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह डाक्टरहरुले दिए । डाक्टरहरुले वीरगञ्ज वा चितवन लैजान सुझाव दिएपछि उनलाई भरतपुरको पूरानो मेडिकल कलेजमा ल्याइयो । 

उनलाई ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको पूरानो मेडिकल कलेजको भनाई छ । बिरामी अचेत जस्तै थिए । सामान्यतया यस्ता बिरामीहरूलाई २४ घण्टाभित्र उपचार गर्न सक्यो भने बचाउन सकिने चिकित्सकहरू बताउँछन् । 

तर ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै क्षति नभएकाले उनी ठीक भएको चिकित्सकहरूको भनाई छ । डा. यादव भन्छन्, ‘अरूको जस्तो नर्मल अवस्था त हैन, त्यही भएर डिस्चार्ज हुन २५ दिन लाग्यो । तर अहिले धेरै नै सुधार भएकाले जीवन बाँच्यो ।’

मन्सुरीले आफ्नो मलद्वारबाट रक्सीको बोतल पूरानो केही रिसिईवी साँध्नका लागि गरेको हुनसक्ने अनुमान गरेका छन् । उनी भन्छन्, ‘कहिलेकाहीँ साथीहरुसँग जिस्किदा केही भनिएको हुन्छ । त्यसैलाई इस्यू बनाएर यस्तो गरेको हो कि ? मैले केही गल्ती गरेको थिइन जस्तो लाग्छ ।’

उनको मलद्वारबाट पेटभित्र रक्सीको बोतल हालिदिएको अभियोग लागेका रौतहट गुजरा नगरपालिका ६ का २० वर्षीय नसिम खान पैठानविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताए । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डीएसपी एकनारायण कोइरालाले घटनाको अनुसन्धान सकेर मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको जानकारी दिएका छन् । 

Advertisement

Advertisement