‘घ’ वर्गका सर्भेयरले ‘क’ वर्गको काम गर्दै, धेरै पारिश्रमिक पाउने लोभमा बढ्दैछ बिकृति

Advertisement

काठमाडौं । बीमा क्षेत्रका सर्भेयरहरुले बीमा ऐनले आफूहरुलाई उपेक्षा गरेको प्रतिक्रिया दिइरहेको बेला सर्भेयरहरुको पारिश्रमिकमा उनीहरुकै लुछाचुडी छ । गलत कार्यशैलीका कारण सर्भेयरहरुको पारिश्रमिकमा एकरुपता नरहेको नेपाल बीमा प्राधिकरणका कर्मचारीहरुले खुलासा गरेका हुन् । 

प्राधिकरणका एक उच्च कर्मचारीले कर्पोरेट नेपालसँग भने,‘तपाईहरुले बीमा सर्भेयरले आफ्नो योग्यता अनुसारको पारिश्रमिक नपाएको गुनासो गरेको सुन्दै आउनु भएको होला । यसमा वास्तविकताको खोजी गर्दा सर्भेयरहरु समस्यामा परेको कुरा सत्य भए पनि उनीहरुले आफ्नो गुणस्तरको मापदण्ड विराएको भेट्टिन थालेको छ । पछिल्लो बीमा ऐनले सर्भेयरहरुको वर्ग छुट्याएको छ । तर, उनीहरुले क वर्गको काम गर्न घ वर्गको सर्भेयर खटाउने गरेको सूचना हामीले प्राप्त गरेका छौं र त्यो अन्यन्तै गलत कुरा हो ।’

Advertisement

ती कर्मचारी सर्भेयरको वर्ग क, ख, ग, घ गरी विभिन्न चार वर्ग तोकिएको बताए । वैज्ञानिक रुपमा वर्गिकृत गरेको भए पनि नयाँ नयाँ सर्भेयरहरुले ठूला ठूला जोखिम लिन तम्सिने गरेको बताए । त्यसरी सर्भेयरहरुले ठूला जोखिमको सर्भे गर्न चाहनुको पछाडि उनीहरुको शिक्षा, अनुभव भन्दा पनि धेरै पैसा आउने लोभलालच नै मुख्य कारण रहेकाले तछाडमछाड गर्ने प्रवृत्ती बढेको हो । 

नयाँ बीमा ऐन जारी हुनु अगाडि एउटा विषय पढेको सर्भेयरले आफूले पढेको क्षेत्र भन्दा बाहेकका क्षेत्रमा पनि सर्भे गर्दै आएका थिए । सर्भेयरलाई आफ्नो क्षेत्र विशेषमा केन्द्रित हुनु भनेर नयाँ बीमा ऐनले त्यस्ता विकृतीको जालो रोक्न एकातर्फ सर्भेयरको वर्ग छुट्याएको छ भने अर्कोतर्फ उनीहरुको अनुभव अनुसारको जोखिमांकनको प्रावधान ल्याएको छ । अन्य क्षेत्रमा जस्तै कार्य क्षमताको आधारमा सर्भेयरहरुको पारिश्रमिक निर्धारण हुने भए पनि त्यसको पालना हुन नसक्दा बीमा क्षेत्रमा भित्रभित्रै निराशा फैलिन थालेको छ ।

सर्भेयरहरुलाई खटाउने काम सर्भेयर एशोसियसन नेपालले गर्दै आएको छ । त्यसरी सर्भेयर खटाउँदा बीमांक, दाबी भुक्तानी र भूगोलको आधारमा उनीहरुको पारिश्रमिक निर्धारण हुँदै आएको छ । 
पाँच वर्षमा अपग्रेड हुने व्यवस्थाले ठूलो समस्या निम्त्याएको छ । उनीहरुको उक्त अवधिको काम पनि हेर्न जरुरी हुन थालेको छ । 

विगतमा तीन सय सर्भेयर थिए भने केही समय अघि १२ सयलाई लाइसेन्स दिइएकाले हाल १५ सय हाराहारीमा सर्भेयर छन् । उनीहरुको नविकरणको आधारमा भने जम्मा १४ सय जना सर्भेयर मात्र सक्रिय रहेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । 

सिभिल, मोटर तथा हिसाब किताबको अन्य काममा सर्भेयर नचाहिने भएकाले अब धेरै सर्भेयरलाई बेरोजगार बस्नु पर्ने चुनौती बढ्दै गएको अवस्था छ ।

Advertisement

Advertisement