तल्लो खारे खोला जलविद्युत आयोजनामा भएको तोडफोड र कर्मचारीमाथिको आक्रमणको निन्दा

काठमाडौं । मंगलबार मध्यरातीको समयमा दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट)को हेडवर्क साइटमा एक समूहले तोडफोड गरेर करिब २५ लाख रुपियाँ बराबरको क्षति पुर्याउनुको साथै कर्मचारीमाथि सांघातिक आक्रमण गरेको भन्दै उर्जा उत्पादकहरुको संस्था इप्पानले विरोध जनाएको छ । 

इप्पानले उक्त घट्ना ‘आपराधिक’ भएको भन्दै घोर भत्र्सना र निन्दा गरेको छ । उसले आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण पनि गराएको छ । आयोजनाका कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने ब्यवस्था गर्न पनि इप्पानले माग गरेको छ । 

Advertisement

उक्त आपराधिक घटनामा संलग्न व्यक्तिहरुले कानूनी कारबाही अगाडि बढाएमा पावरहाउस लगायत अन्य क्षेत्रमा पनि कर्मचारी र आयोजनाको अन्य सम्पत्तिमाथि आक्रमण गर्ने धम्की अझै पनि दिइरहेको भन्दै इप्पानले कर्मचारीहरु भयभित रहेकोले शान्ति सुरक्षाको प्रत्याभूती नहुँदा काम गर्ने मनोबल नरहने बताएको छ । 

सरकार र सम्बन्धित सुरक्षा निकायले सम्पूर्ण कर्मचारी र आयोजनाको सम्पत्तिको सुरक्षाको व्यवस्था अबिलम्ब मिलाई सुरक्षाको प्रत्याभूती गराउनुपर्ने इप्पानको माग छ । विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको श्रृङ्खलाबद्धरुपमा सामना गरिरहनुपरेको पनि संस्थाले स्मरण गरेको छ । 

Advertisement

आयोजनाका प्रवर्द्धक र कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउन बिभिन्न बहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पुर्याउने र अवाञ्छित लाभ लिने नियोजित उद्देश्यले त्यस खालका आपराधिक, उच्श्रृङ्खल, अराजक र उदण्ड गतिबिधि हुने गरेको भन्दै इप्पानले यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै यो क्षेत्र निरुत्साहित हुने बताएको छ । इप्पानले दोषीहरुलाई पक्राउ गरी कडा कारवाही गर्न पनि माग गरेको छ ।

Advertisement