प्रभु साहका कार्यकर्ताले प्राधिकरणका इन्जिनियरमाथि आक्रमण गरेको विरोधमा धर्ना जारी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केद्रका सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीमाथि हातापात गर्ने नेता प्रभु साहका कार्यकर्तामाथि कारवाही नभएको भन्दै प्राधिकरणका चार कर्मचारी संगठनसम्वन्ध कर्मचारीहरुले शुक्रबार पनि धर्ना जारी राखेका छन् । 

हुक लगाएर विद्युत चोरी गरिएपछि प्राधिकरणका कर्मचारीहरुले त्यसलाई निकालेपछि आएका प्रभु साहका २०–३० जना कार्यकर्ताले प्राधिकरणका कर्मचारीहरुमाथि आक्रमण गरेका थिए । आक्रमणबाट सहायक इन्जिनियर चौधरी गत फागुन ५ गते घाइते भएका थिए । 

Advertisement

त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेलगायतले उनीमाथि आक्रमण गरेको थियो । दोषीहरुलाई कारवाही गर्न महिनौ अगाडिदेखि माग गर्दा पनि कारबाही नभएपछि प्राधिकरणमा क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका हुन् । केन्द्रले घट्नामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न बारम्बार ताकेता गर्दा पनि हातपात गर्नेलाई कारबाही नभएपछि आन्दोलनमा उत्रनुपरेको प्राधिकरणमा नेकपा एमालेनिकट कर्मचारी संगठनका अध्यक्ष रामेश्वर पौडेलले बताए । 

उनले आइतबारसम्म पनि दोषीलाई कारवाही गर्ने कुराको सुनिश्चितता नभए आन्दोलनको स्वरुप फेरेर सशक्त आन्दोलन सुरु गर्ने बताए । पौडेलले एउटा राज्य र संस्थाप्रति इमान्दार कर्मचारीलाई हातपात गर्ने र राजनीतिक संरक्षणमा अपराधीहरुलाई कारवाही गर्न नदिने कुरा गलत हो भन्दै यसलाई यत्तिकै छोड्ने हो भने अरु कर्मचारीहरु पनि पीडित बन्दै जाने बताए ।  

त्यस्तै, प्राधिकरणमा नेपाली कांग्रेसनिकट कर्मचारी संगठनकी नेतृ प्रमिला ढुंगानाले प्राधिकरणका कर्मचारीलाई हातपात गर्नेहरु जुनसुकै दल वा नेताको कार्यकर्ताृ भए पनि कारवाही नभएसम्म आन्दोलन नरोकिने बताइन् । 

उनले विद्युत चोरी गर्नु आफैमा अपराध हो भन्दै त्यसलाई रोक्न खोज्दा उल्टै प्राधिकरणका कर्मचारीमाथि हातपात गर्ने कुरा अर्को अपराध हो भन्दै दोषीलाई कारवाही गर्न अवरोध सहजीकरण गर्नुको सट्टा नेता प्रभु साहले प्राधिकरण व्यवस्थापनलाई उल्टै दबाब दिने काम गरेको बताइन् । 

प्राधिकरणका कर्मचारी संगठनहरुले घाइते कर्मचारीलाई उपचारको व्यवस्था गर्न र हातपात गर्नेलाई पक्राउ गरी कारवाही गर्न पटक पटक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदा समेत लामो समयसम्म दोषीमाथि कानुनी कारबाही नभएपछि भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । 

उनीहरुले चैत ९ गतेदेखि सुरु भएको धर्ना, घेराउ र कालोपट्टि बाँधेर विरोध जनाउने काम गर्दै आएका छन् । 

Advertisement

Advertisement