अर्थमन्त्री बन्नासाथै गभर्नरलाई महतको चेतावनीमूलक आग्रह– पूर्वाग्रह नराखी काम गरौं

Advertisement

काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले पूर्वाग्रह नराखी काम गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई चेतावनीमूलक सल्लाह दिएका छन् । 

शुक्रबार पदबहाली गर्ने क्रममा उनले अहिले अर्थतन्त्रमा समस्यामा रहेको बताउँदै यस्तो बेलामा राष्ट्र बैंकसँग एकाकार भएर काम गर्नुपर्ने अवस्था रहेको बताए । 

Advertisement

महतले भने, ‘कुनै आग्रह पूर्वाग्रह नराखी काम गरौं । संरचनात्मक सुधार गरौं । म रातदिन खटेर काम गर्न तयार छु । नतिजामा आधारित काम गरौं । देश र जनताको अवस्था हेर्नुपर्ने छ । मितव्ययिताको कुरा छ । खर्च नगरे पनि हुने ठाउँमा खर्च नगरौं । आन्तरिक र बाह्य ऋणको सावाँ व्याज तिर्नुपर्ने हुन्छ ।’  

बजेट निर्माण गर्दा पहिलाको भन्दा फरक ढंगले निर्माण गर्ने बताउँदै उनले देशको राजश्व बढाउने गरी बजेट बनाउने बताए । महतले थपे, ‘अहिले लगानी कम छ । कस्ट अफ प्रोड्क्सन कम छ । राजस्वले साधारण खर्च धान्न समेत गाह्रो  छ । चालू खर्च धान्न ऋण लिनुपरेको छ । सरकारी काममा इफिसियन्सी (प्रभावकारीता) बढाउनु जरुरत छ । हामीलाई नतिजा आवश्यक छ । राजस्व बढाउनु आवश्यक छ । फर्मल च्यानल भन्दा अर्को च्यानलबाट धेरै पैसा आइरहेको छ । यसलाई व्यवस्थापन गर्न जरुरत छ ।’

गभर्नर अधिकारी नेकपा एमालेको अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारले नियुक्त गरेको हो । अहिले एमाले संसदमा प्रमुख प्रतिपक्षमा छ । 

महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताए । उनले  मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । महतले सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए । 

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उल्लेख गरे । उनले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने बताए । महतले अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताए । 

महतले लघुवित्त र सहकारीहरुमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताए । उनले जनतामा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । उनले महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने बताए । 

मन्त्री महतले पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘अहिले नेपालको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्रलाई सवल बनाउने खालका निर्णय सरकारले लिन्छ । मेरो सम्पूर्ण कोशिष अर्थतन्त्रमा देखिएको सुस्तता छ । त्यसलाई मन्दीमा जान नदिने सुनिश्चिता गर्न आवश्यक छ । राजश्व आपूर्ति सन्तोषजनक छैन । सरकारको साधरण खर्च धेरै छ । यसमा निर्मम हुनैपर्छ । हामी अनिवार्य बाहेकका खर्च कटौति गर्नेछौं । राजश्व भन्दा बढी छ । सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेको छैन । समग्रमा अर्थतन्त्रमा एग्रिगेट मागको अवस्था कमजोर भएको छ ।’ 

महतले थपे, ‘अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्नेगरि निर्णय गर्नेछु । अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ  अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि जुन सक्रियता देखाउनुपर्नेछ त्यसमा मन्त्रालय बढी सम्बेदनशिल हुन आवश्यक ठानेको छु । राजश्वको जुन परिवेश छ । ठूला लगानीकर्ताहरु पनि समस्यामा छन् । लघुवित्त र सहकारीहरु पनि समस्यामा रहेका छन् । यसमा राष्ट्र बैंकको पनि अहम भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर काम गर्न जरुरी छ । जनतामा निराशा छ त्यो निराशालाई आशामा बदल्नुपर्छ । सकारात्मक सोचका साथ लगानी गर्दा हुन्छ । रेट अफ रिटनमा समस्या छ । बैंकको ब्याजदर बढेको छ । शेयर बजारमा समस्या छ । निजी क्षेत्रको आत्मविश्वास बढाउन लाग्छु ।’ 

Advertisement

Advertisement