गुराँस लाइफमा रु. एक करोड उधारो बीमाको अर्को काण्ड भेटिएपछि मर्जर प्रक्रिया अलपत्र

Advertisement

काठमाडौं । ‘बिग मर्जर’को प्रक्रियामा रहेको गुराँस लाइफ इन्स्यारेन्स कम्पनीले रु. एक करोडको उधारो बीमा गरेको फेला परेको छ । नेपाल बीमा प्राधिकरणका एक उच्च कर्मचारीले रु. एक करोडको उधारो बीमा गरेको भेटिएकाले प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग हुन भनिएको मर्जर प्रक्रियामा ढिलाई भएको जानकारी दिए । 

यसअघि गुराँसले जीवन बीमा कोष (लाइफ फण्ड) मा रहेको रु. २८ करोड जबरजस्ती गैरकानुनीरुपमा अपचलन गरेका कारण प्राधिकरणले त्यसलाई उल्ट्याउन लगाएको थियो । यसरी लाइफ फण्डमा गइसकेको पैसा झिकेर चलाउने कुरामा कम्पनी सञ्चालक समितिसँग विवाद भएपछि कम्पनीका तत्कालिन लेखा प्रमुख वीके अग्रवालले राजीनामा दिएर समेत हिंडेका थिए । 

Advertisement

प्राधिकरणले नै सहयोग गरेर गुराँस, युनियन र प्राइमलाई निकै पहिलदेखि एक बनाउन खोजे पनि पटक पटक गुराँसभित्रको समस्याका कारण ढिलाई हुँदै आएको छ । 

प्राधिकरणले गएको आर्थिक बर्षको हिसावमा गुराँसले एक करोड रुपियाँको उधारो बीमा गरेको पाइएको बताएको छ । प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले उधारो बीमामा संलग्न हुने कुनै पनि कम्पनीलाई आफूहरुले बाँकी नराख्ने बताउँदै आएका छन् । 

प्राधिकरणका ती कर्मचारीले भने, ‘गुराँसको कहिले के कहिले के लफडा आइरहेको छ । नभए उहिल्यै मर्जर भइसक्थ्यो । चैतभित्रै मर्जर सक्नुपर्छ है भनेको हो । यिनीहरुको सक्किएला जस्ता देखिन्न । युनियन र प्राइममा भने त्यस्तै कुनै समस्या नपाइएको उनले बताए । 

गएको आर्थिक बर्षको गुराँसको हिसावमा देखिएको एक करोड रुपियाँको उधारो बीमा व्यवसायलाई भ्यालुयसनमा लिइएको छैन् । अघिल्लो आर्थिक बर्षको हिसावलाई भ्यालुयशनमा राख्न नमिलेपछि गुराँसले आर्थिक वर्ष २०७७–७८ को मात्रै भ्यालुयसन बुझाएको छ । अरु दुई कम्पनीले भने आर्थिक बर्ष २०७८–८९ कै भ्यालुयशन बुझाएका छन। 

निर्जीवन बीमातर्फ आर्थिक वर्ष २०७८–७९ मा नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले यस्तो भ्यालुयशन रिपोर्ट बुझाएका छैनन् । जीवनतर्फ एशियन लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, सूर्यज्योती लाइफ, मेट लाइफले मात्रभ्यालुयसन रिर्पोट बुझाएका छन् ।

प्राधिकरणले अरु कम्पनीमा पनि गुराँसको जस्तै उधारो बीमाको समस्या हुनसक्ने संभावना औंल्याउँदै आफूहरुले निगरानी गरिरहेको बताएको छ । प्राधिकरणका ती कर्मचारीले पछिल्लो समय उधारो बीमामा केही कमी आए पनि निर्मुल हुन नसकेको बताए । 

निर्जीवन बीमा क्षेत्रमा ठेक्कापट्टाका काममा उधारो बीमा हुने सम्भावना धेरै हुने प्राधिकरणले नै स्वीकार गर्दै आएको छ । गुराँसमा नेपालको नाम चलेको व्यवसायिक घराना दुगड् समूहको मुख्य लगानी छ ।  

Advertisement

Advertisement