व्यवसायीको राजनीतिः कस्तो छ समीकरण ? कुन समूहलाई कुन दल तथा नेताको समर्थन ?

Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाउन केही दिन मात्रै बाँकी छ। यतिबेला महासंघको केन्द्रीय कार्यालय टेकुमा व्यवसायीहरुको चुनावी माहौलले तताएको छ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको नेतृत्व चयनका लागि अप्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै आएको छ । नेतृत्व हत्याउन तीन समूहबीच रस्साकस्सी चलिरहेको बेला चुनावी परिणाम कस्को पक्षमा जाला ? सबैको चासो र चर्चाको विषय बनिरहेको छ । 

Advertisement

वरिष्ठ उपाध्यक्षका तीन जना प्रत्यासीहरु समूहसहित चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षको प्रत्यासीमा महासंघका बहालवाला दुई जना उपाध्यक्षहरु रामचन्द्र संघई र अन्जन श्रेष्ठ छन् भने अर्का एक जना उमेशलाल श्रेष्ठ पूर्वउपाध्यक्ष हुन् । संघईको बैंकिङ क्षेत्र, चिया उद्योगमा विशेष लगानी छ भने अन्जन श्रेष्ठको अटोमोवाइल व्यापारमा बढी लगानी छ । उमेशलाल श्रेष्ठ भने औषधि उद्योगी हुन् । 

महासंघको हरेक निर्वाचनमा चुनाव जित्न व्यवसायीबीच आर्थिक र व्यापारिक सौदाजावी चल्ने चर्चा हुने गरेको छ । एक व्यवसायी र व्यवसायिक समूहले अर्कोसँगको रिस र कुण्ठा पोख्ने मौकाको रुपमा पनि महासंघको हरेक तीन बर्षमा हुने चुनावलाई प्रयोग गर्ने गरेको देखिएको छ । यस पटक पनि तीन वटै समूह रणनीति योजनाका साथ प्रस्तुत छन् । यसअघि अन्जन समूहबाट एशोसियट्स उपाध्यक्षको उम्मेदवार रहेकी ज्योत्सना श्रेष्ठलाई संघई समूहले आफ्नो पक्षमा ल्याएको छ भने ज्योत्सनाले छोडेपछि अन्जन समूहले सो ठाउँमा प्रस्तुत गरेका प्रवलजंग पाण्डेलाई पछि हटाएर उमेशलाल समूहका एशोसियट्स उपाध्यक्षका उम्मेदवार भरत आचार्यलाई आफ्नो पनि उम्मेदवार स्वीकार गरेको छ । 

यसअघि माहौल आफ्नो पक्षमा ल्याउन देश दौडाहामा रहेका तीन वटै समूहका अगुवाहरु अहिले भने राजधानी केन्दीत भएर परिणाम निकाल्ने कसरतमा लागेका छन् । आफ्नो प्रतिष्ठाको विषय समेत भएकाले उनीहरु दौडधुपमा लागेका बेला भावी अध्यक्षसमेत रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने सकेसम्म सहमतिमा नेतृत्व चयन गराउने प्रयासमा देखिन्न् । 

महासंघको केन्द्रीयस्तरका नेताहरु सकेसम्म खुलेर कुनै पनि दलसँग निकट देखिन्नन् । धेरैले सबै दल र नेताहरु समदुरीको सम्वन्ध बनाउन खोजेको देखिन्छ । त्यति हुँदाहुँदै पनि उनीहरुको कुनै न कुनै दल र नेतासँग भने विशेष सम्वन्ध र निकटता देखिन्छ । जब महासंघको नेतृत्व गर्न कुनै व्यवसायी अग्रसर हुन्छ, उसलाई दल र नेताहरुको साथ र सहयोग खोज्नुपर्ने बाध्यता बन्ने गरेको छ । विशेषगरी जिल्ला नगरका प्रतिनिधिहरु दलकै कार्यकर्ता हुने भएकाले पनि माथिल्लो तहमा तटस्थ देखिने व्यवसायीहरुलाई पनि राजनीतिक नेताहरुको ढाका चाहानुपर्ने परिस्थिति छ । 

यसै क्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघाई आफूलाई चुनाव जिताइदिन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाकहाँ पुगेका छन्। स्रोतका अनुसार काँग्रेस संस्थापन पक्षको समर्थन लिनका लागि संघाईले देउवा दम्पत्तिलाई भेटेका हुन् । कांग्रेस संस्थापनले समर्थन गर्दा आफ्नो जित सहज हुने उनको विश्वास देखिन्छ । 

स्रोतका अनुसार आरजु देउवाले संघाईलाई सघाउने आश्वासन दिएकी छन् । त्यसको लागि पार्टीबाट एउटा टिम नै खटाउने उनको आश्वासन पनि दिएकी छन् । शालिन र नरम शैलीका संघाईलाई जिल्ला नगरबाट बढीभन्दा बढी मत कसरी ल्याउने भन्ने बढी चिन्ता देखिन्छ । सकेसम्म सबैसँग सम्बन्ध बिगार्न नखोज्ने उनी कुटनीतिक खालका व्यक्ति पनि हुन् । 

वरिष्ठ उपाध्यक्षको अर्का प्रत्यासी अन्जन श्रेष्ठलाई काँग्रेसकै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन देखिन्छ । त्यति मात्रै नभएर उनलाई राजसंस्था पक्षधरहरुको पनि सदासयता देखिन्छ । अन्जनलाई पाण्डे समूहको समर्थनले पनि त्यसको संकेत गर्छ । उनले जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गीलाई प्रस्तुत गरेर माओवादी केन्द्रको पनि समर्थन लिन खाजेको देखिन्छ । चुनाव कसरी जित्नुपर्छ ? उनले त्यो कला यसअघि उपाध्यक्षको निर्वाचनमा देखाइसकेका छन् । तर पहिला जस्तो अहिले उनको चातुर्यताले काम गर्छ वा गर्दैन् ? हेर्न बाँकी छ । संघईको जस्तो अन्जनको मिजासिलो स्वाभाव छैन् । सीमित पत्रकारहरुको घेराबाट बाहिर निस्किन नखोज्ने स्वाभावले पनि उनीदेखि धेरै चिडिएको देखिन्छ । आफूलाई मन नपर्नेहरुको उनी खुलेरै आलोचना गर्छन् । 

वरिष्ठ उम्मेदवार उमेशलाल श्रेष्ठलाई नेकपा एमालेको समर्थन प्रष्टै देखिन्छ । कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ तथा एमाले नेतृ साहना प्रधानका छोरा उमेशलाल राजनीतिक परिकारका सदस्य भए पनि व्यवसायिक क्षेत्रमा लागेका हुन् । परिवारको राजनीतिक पृष्टभूमिका कारण उनले महासंघमा नेतृत्व गर्ने प्रयास गर्दै आए पनि नेतृत्व क्षमता नहुँदा उनी असफल हुँदै आएका छन् । यसअघि पनि उनी उपाध्यक्षमा पराजित भइसकेका व्यक्ति हुन् । 

उमेशलाल श्रेष्ठलाई महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ र समर्थन देखिन्छ । विगतमा महासंघमा राम्रो प्रभाव जमाएका ढकाल र एमालेको समर्थन हुँदा सहजै आफ्नो जित हुने श्रेष्ठको विश्वास देखिन्छ । तर ढकालको प्रभाव अहिले महासंघमा पहिलाको जस्तो छैन् । ढकाल आफैमा विवादित र बदनाम पात्र भएकाले पनि श्रेष्ठलाई उनको साथ फलदायी नै हुन्छ भन्ने देखिन्न् । यद्यपि पुष्पलालको छोरा भएको नाता उनले सहानुभूतिको भोट भने पाउनसक्छन् । 

Advertisement

Advertisement