एक कृषि औजार व्यवसायीको गुनासो– किसान पलायन भएर होला, सामान बिक्न छोड्यो

Advertisement

काठमाडौं । नवीन प्रविधिको प्रयोगबाट धेरै मुलुकले कृषि क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्दै आएका छन् । उत्पादन बढाएर उनीहरु आत्मनिर्भर मात्रै भएका छैनन्, खाद्यान्न, तरकारी, माछामासु र फलफूलसमेत निर्यात गर्छन् । 

तर नेपाल कृषि प्रविधिको विकास र प्रयोगमा पछि गर्दा परनिर्भर बन्नुपरेको छ । कृषि प्रविधिको विकासका लागि राजाको शासन कालमा स्थापना गरिएको कृषि औजार कारखाना पनि बहुदलीय व्यवस्था स्थापनासँगै बन्द गर्ने काम भएको थियो । तर निजी क्षेत्रबाट भने कृषि प्रविधिका क्षेत्रमा केही काम हुन थालेको देखिन्छ । तीमध्ये एक व्यवसायी हुन रोशन ढकाल 

Advertisement

उनको पशुपति एग्रो ट्रेडर्सले आयात गरेर भए पनि कृषि क्षेत्रमा प्रयोग हुने हाते औजारहरु बिक्री गर्न थालेको पाँच बर्ष भइसक्यो, जसले किसानहरुलाई आधुनिक ढंगले कृषि पेशा अपनाउन सहयोग पुग्दै आएको छ । खाद्यान्न तथा तरकारी खेतीका लागि आवश्यक ९० प्रतिशत सामग्री आफूले थोक बिक्री गर्दै आएको ढकालले बताए । 

उनले यस व्यवसायबाट मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी पनि गर्दै आएका छन् । बीस लाख रुपियाँ लगानीबाट सुरु भएको ढकालको गोदाममा अहिले दुई करोड रुपियाँका कृषि सामग्री छन् । 

हाते ट्याक्टर, प्लाष्टिकका गमला, ग्राफ्टिङ गरेका बिरुवाको जरा उमार्न मद्दत गर्ने भिटामिन, बोटबिरुवामा औषधि छर्कने उपकरण जस्ता थुप्रै कृषि सामग्री बिक्री गर्दै आएका उनले यी सामान छिमेकी चीन, भारतबाट ल्याउने गर्छन् । विशेषगरी तरकारी किसानका लागि उपयोगी औजारहरु ढकालको गोदाममा देख्न सकिन्छ । 

व्यवसायी ढकालले भने, ‘महंगा औजारहरु नेपालका किसानलाई खरीद गर्न गाह्रो हुन्छ । सजिलो र सस्तो भएका कारणले पनि हामीले बिक्री गर्ने औजार किसानको रोजाईमा पर्दै आएको हो ।’ काठमाडौं उपत्यकासहित बाहिर धनगडी, महेन्द्रनगर, झापा, सुन्सरी लगायतका जिल्लाका व्यापारीहरुलाई कृषि औजार बिक्री गर्दै आएका उनले पछिल्लो समय यस्ता औजार खोज्नेहरु घट्दो क्रममा रहेको बताए । कृषि पेशा गर्ने युवाहरु बढ्दो विदेश पलायनले औजारको बिक्री घटेको हुनसक्ने ढकालको अनुमान छ । 

उनी भन्छन्, ‘पहिलाको दाँजोमा खेती गर्ने किसान निकै पलायन भएका छन् । कोही विदेश पलायन भएका होलान । कोही अन्य पेशा व्यवसायमा पलायन भएका होलान । खेती किसानी गर्ने सरकारको कुनै प्रोत्साहन र संरक्षणको नीति नभएर पनि होला । दिन प्रतिदिन लगानी बढ्दो छ । उत्पादन गरेको लगानी नठदैन् । सिजनमा तरकारी नबिकेर फाल्नुपर्ने भएपछि किसान विकल्प खोज्न बाध्य भइहाल्छन् ।’ 

खेती किसानी गर्ने बढे मात्रै मेरा कृषि औजारको बिक्री बढ्ने हो भन्दै ढकालले तर पछिल्लो आर्थिक मन्दीको अवस्थाले पनि हुनसक्छ, सामग्री गोदाममा थन्काएर राख्नुपर्ने  बाध्यता रहेको सुनाए । किसानहरु कृषि पेशामा त्यति सन्तुष्ट नभएको आफूले पाएको उनले सुनाए । ढकालले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहित गर्ने र प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने बताए । 

Advertisement

Advertisement