बैंकको ब्याज खाएर चल्नुपर्ने बाध्यतामा रहेका बीमा कम्पनीहरुलाई लगानीको नयाँ ढोका खुल्यो

काठमाडौं । कम्पनीहरुले लामो समयदेखि माग गर्दै आएको लगानीको दायरा बढाउनुपर्नेलाई मागलाई नेपाल बीमा प्राधिकरणले सम्बोधन गरेको छ । 

कम्पनीहरुले सिमित क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको भन्दै दायरा बढाउन आग्रह गर्दै आएका थिए । उनीहरुले विशेषगरी उत्पादनमूलक विभिन्न क्षेत्रमा लगानी गर्ने बाटो खोल्दिन आग्रह गर्दै आएका थिए । लगानीको दायरा संकुचित हुँदा बीमा कम्पनीहरु पनि बैंकहरुमा मुद्दती गरेर ब्याज खान बाध्य हुँदै आएका थिए । 

Advertisement

कम्पनीहरुको मागअनुसार नै आफूहरुले दायरा बढाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले विगत लामो समयदेखि बीमा कम्पनीहरुले गर्ने लगानीको दायरा निकै सानो रहेको पनि स्वीकार गरे । पौडेलले भने, ‘त्यही कारण उनीहरुले बैंकको मुद्धती खातामा बीमाशुल्कको पैसा राख्नुको विकल्प नभएको गुनासो गर्दै आएका थिए । हामीले गुनासाहरु सुन्दै आएका थियौं । दायरा बढाउन गृहकार्य पनि भइरहेको थियो । अब कम्पनीहरुको लगानीको दायरामा वृद्धि भएको छ ।’ 

प्राधिकरणले लगानी नीतिमा सुधार गरी विभिन्न उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्न पाउने व्ययवस्था गरेको उनले जानकारी दिए । पौडेलले बीमा कम्पनीहरुको लगानीको दायरा जति फराकिलो भयो, त्यति नै उत्पादन वृद्धिमा पनि सहयोग पुग्ने र कम्पनीको आम्दानीमा पनि सुधार हुने बताए । लगानी गर्दा भने कम्पनीहरुले जोखिम मूल्यांकन गरेर गर्नुपर्ने पौडेलले सुझाव दिए ।  

उनले भने, ‘अब कम्पनीहरुले भनेको ठाउँमा वा राम्रो ठाउँमा लगानी गर्न पाइन भन्ने अवस्था छैन् । देशको उत्पादकत्व पनि वृद्धि हुने र कम्पनीहरुले पनि मुद्दती निक्षेपमा भन्दा राम्रो प्रतिफल हासिल गरेर लगानीकर्तालाई राम्रो मुनाफा दिनसक्ने हुनछ । तर यसरी जनताको पैसा लगानी गर्दा भने जोखिम मूल्यांकन गरेर कम जोखिमयुक्त क्षेत्रहरुमा पोर्टफोलियो मिलाएर गर्नु जरुरी हुन्छ ।’

पछिल्लो समयमा सरकारी कोषदेखि पब्लिक कम्पनीसम्मले बैंकमा पैसा राखेर ब्याज खाने प्रवृत्ति गलत भएको भन्दै यस्तो गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने आवाज पनि चर्कोरुपमा उठ्न थालेको छ । प्राधिकरणको नयाँ लगानी नीतिअनुसार बीमा कम्पनीहरुले सरकारी निकायबाट स्वीकृति प्राप्त घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन उद्योग, जलविद्युत जस्ता नवीकरण उर्जामा लगानी गर्न पाउँछन् । त्यस्तै, उनीहरुले केवलकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न पाउने पौडेलले बताए । 

उनले यस्ता क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीहरुबाट अन्य क्षेत्रले समेत लाभ पाउने बताए । विशेषगरी, जीवन बीमा कम्पनीहरुले बीमितको २० वर्षसम्मको जोखिम बहन गर्ने भएकाले पनि उत्पादनमूलक क्षेत्रले बीमा कम्पनीहरुको सहकार्यमा लगानी गर्न चाहेमा पाँच बर्षे योजनादेखि दीर्घकालिन योजनामा समेत लगानी गर्नसक्ने पौडेलले बताए । उनले प्राधिकरणको नयाँ निर्देशनले समग्र बीमा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए । 

बीमा कम्पनीहरुले नचाहेर पनि बैंकमा पैसा राख्नुपर्ने बाध्यता र त्यसबाट आएको ब्याजमा भर पर्नुपर्दा उनीहरुको विकास हुन सकेको थिएन् । 

Advertisement