तत्कालिन प्रिमियरमा रु. तीन करोड बराबरको नक्कली बीमा दाबी, दबाब बढाउँदै बीमित

Advertisement

काठमाडौं । एउटा यस्तो बदमासी फेला परेको छ, जहाँ फर्निचर उद्योगको बीमा हुन्छ । बीमा गरेलगत्तै ठूलो आगलागी भएको दावी गरिन्छ । आगलागीबाट ठूलो आर्थिक क्षति भएको भन्दै दाबी भुक्तानी मागिन्छ । तर बीमा कम्पनीले तोकेका सर्भेयरहरु गएर हेर्दा भने दावी गरिएजस्तो क्षति विल्कुलै देखिन्न । आगलागी भएको कुरामा नै सर्भेयरले प्रश्न उठाउँछन् । 

सर्भेयरले वस्तुगत आधार र प्रमाणका आधारमा आगलागी पनि नक्कली भएको र क्षति पनि कृतिम रहेको औंल्याएपछि सम्वन्धित प्रिमियर इन्स्योरेन्स कम्पनी (तत्कालिन)ले पनि दावी भुक्तानी गर्न अस्वीकार गर्दै आयो । तर बीमितले विगत एक बर्षदेखि कम्पनीसँग मोटो रकम दाबी भुक्तानी माग्दै आएको छ । क्षतिपूर्ति दावी गर्ने फर्निचर उद्योग बनेपाको ‘सान उड इन्फ्रास्ट्रक्चर’ हो । प्रिमियर इन्स्योरेन्स कम्पनी अहिले सिद्धार्थ इन्स्योरेन्ससँग मर्जरमा गएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको छ । 

Advertisement

बीमितले दावी गरेको आगलागी २०७७ माघ ७ गते दिउसो साढे २ बजे भएकोमा सोही दिन उनी क्षतिको दावी भुक्तानी माग्न बीमा कम्पनी पुगेका थिए ।  ‘सान उड’का सञ्चालक आगलागीबाट आफ्नो तीन करोड रुपियाँ बराबरको क्षति भएको भन्दै दावी भुक्तानी माग गर्दै आएका छन् । तर कम्पनीले यो ‘फ्रड क्लेम’ भएकाले दावी भुक्तानी दिन अस्वीकार गर्दै आएको छ । बीमित बीमा दावी रकम हात पार्न नेपाल बीमा प्राधिकरणसम्म पुगेर दबाब दिन भ्याइसकेका छन् । 

फर्निचर उद्योगीले नै आफूलाई उपलब्ध गराएको भिडियो हेर्दा पनि फर्निचरभित्रको चौकोस, काठका चिरा, स–साना बाकलहरुमा मात्रै आगलागी भएको देखिएको सम्वन्धित सर्भेयरको भनाई छ । उनी भन्छन्, ‘काठका टुक्राटाक्रीमा मात्रै आगलागी भएको देखिन्छ । त्यो पनि कृतिमरुपमा गरिएको छ । यस्तो सामान्य क्षतिमा बीमाले जोमिक समेटदैन । फर्निचर उद्योगभित्र सद्दे सामानहरुमा कुनै क्षति भएको छैन् । मुल संरचना पनि डढेर खरानी भएको छैन् । यस्तो देख्दादेख्दै हामीले आफ्नो क्यारियर दाउमा राखेर दावी भुक्तानीका लागि सिफारिस कसरी गर्ने ?’

ती सर्भेयरले आफूहरुले एक लाइनमा दाबी भूक्तानी दिन ‘अयोग्य’ भनेर लेखिसकेको बताए । तर, अहिले यो बीमा दावी भुक्तानीको विवाद बढ्दै गएको छ । यही विषयमा प्राधिकरणमा समेत उजुरी परेको देखिन्छ । बीमितले आफूले दावीअनुसार तीन करोड नै क्षतिपूर्ति पाउनुपर्ने अडान राख्दै दबाब दिँदै आएका छन् । 

प्राधिकरणका मुद्दा शाखाका एक कर्मचारीले पनि सर्भेयरले नै रोकेको दाबी भुक्तानी पाउने सम्भावना अत्यन्त न्यून हुने बताएका छन् । उनले सर्भेयरहरुले प्रायः गरेर दावी भुक्तानीका लागि सिफारिस नरोक्ने बताउँदै बदनियतपूर्ण ढंगले कसैले बीमा दावी भुक्तानी लिन खोजेको छ भने सर्भेयरले पनि जोखिम नमोल्ने बताए । 

भ्याट तिर्नु शंकास्पद
शंकास्पद आगलागी र त्यसबाट भएको क्षति पुष्टि गर्न बीमितले तीन करोडको भ्याट (मूल्य अभिवृद्धि कर)को विवरण समेत पेश गरेका छन् । पैसा नगद नभएकाले आफूले ऋण लिएर भ्याट तिरेको दावी गरेको भन्दै सर्भेयरले यसलाई पनि शंकाको दायरामा लिएको बताए । स्थलगत अध्ययन र कागजी विवरणमा नमिलेकाले पनि ‘सान उड’ले दाबी भुक्तानी पाउने सम्भावना टर्दै गएको उनको भनाई छ । 

उक्त फर्निचर उद्योगले त्यसअघि पनि आफ्नो उद्योगमा आगलागीबाट क्षति भएको भन्दै दावी भुक्तानी लिँदै आएका थिए । तर ती दावी पाँच–१० लाख रुपियाँका मात्रै भएकाले कम्पनीले भुक्तानी गर्दै आएको थियो । तर पछिल्लो पटक एकैचोटी तीन करोडको दावी पेश गरेपछि घटनाको निरीक्षण र छानविन गरिएको हो । 

Advertisement

Advertisement