ऋषी–शर्मिला काण्डपछि बढ्यो काजु पेस्ताको मूल्य, बज्राचार्य भन्छन्– काण्डसँग नजोडौं

Advertisement

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको ऋषी धमला र शर्मिला वाइबाबीचको सम्वन्ध र त्यससँग जोडिएको ‘काजु’को विषयले गर्दा बजारमा काजु पेस्ताको मूल्य पनि ह्वात्तै बढेको छ । 

ऋषी–शर्मिला काण्डपछि काजुको मूल्य एक हजार छसयबाट बढेर एक हजार आठ सय रुपियाँसम्म पुगेको छ भने पेस्ताको मूल्य किलोको पाँच हजार पुगेको छ । काजु र पेस्तालाई यौन शक्तिवद्र्धक ‘ड्राई फुड’को रुपमा हेरिन्छ । 

Advertisement

नयाँ बानेश्वरका एक खुद्रा व्यापारीले पछिल्लो समय काजु पेस्ताको माग बढेसँगै मूल्य पनि बढेको बताए । उनले भने, ‘ऋषी र वाइबा काजु खाएको कुरा फेसबुकमा आउन थालेपछि भाउ भएर गयो । अझै बढ्ला जस्तो देखिन्छ । 

तर नेपाल खुद्रा व्यापार सँगका अध्यक्ष पवित्र बज्राचार्यले काजु पेस्ताको मूल्य बढ्ने कुरालाई ऋषी–शर्मिलासँग नजोडौं भने । उनले बजारमा भाउ घट्बढ स्वाभाविक भएको बताउँदै माग बढेकाले काजुको मूल्य १० प्रतिशतले र पेस्ताको मूल्य तीन गुणाले बढेको जानकारी दिए । 

नेपालमा काजुको व्यवसायिक उत्पादन छैन् । पेस्ता केही भूभागमा उत्पादन हुने गरे पनि न्यून मात्रै छ । नेपालमा बर्षेनी अर्बौं रुपियाँको काजु पेस्ता आयात हुने गरेको बताउँदै बज्राचार्यले केही समय यता यी दुवैको मूल्यमा वृद्धि भएको बताए । 

कुनै समय काजुको मूल्य ५० प्रतिशतसम्मले वृद्धि भएको थियो भन्दै उनले अहिले दुई–तीन महिनायता भने करिव १० प्रतिशतले वृद्धि भएको बताए । काजुको मूल्य यसको आकार र गुणस्तरमा पनि केही फरक पर्नसक्ने उनको भनाई छ । मौका पाउनासाथ व्यापारीहरुले सामानको कृतिम मूल्य वृद्धि गर्ने चलन पनि नेपालमा छ । तर बज्राचार्यले यसमा कुनै काण्डका कारण व्यापारीहरुले मूल्य नबढाएको बताए । 

उनले भने, ‘काजुको मूल्य अहिले मात्रै बढेको होइन्, पाँच बर्षदेखि नै बढ्दै आएको छ । माग बढेपछि भाउ त बढिहाल्छ । यो नेपालमा उत्पादन हुँदैन् । गर्मी ठाउँ चाहिन्छ । अरेवियन मुलुकदेखि इण्डियाबाट आयात हुने हो ।’ 

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ, भिटामिन–बी पनि पाइन्छ । ड्राइ फ्रुटको राजा रुपमा लिइने काजु पेस्ताबाट हुने फाइदा मानिसहरुले थाहा पाएसँगै बढी किन्न थालेको बज्राचार्यको भनाई छ । पछिल्लो समयमा धनाढ्यहरुले स्वागत र उपहारका लागि पनि काजु पेस्ता नै प्रयोगमा ल्याउन थालेका छन् । ठूला होटलहरुमा पनि यसको प्रयोग बढ्दै गएको छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार अराजक हुँदा पनि जथाभावी मूल्य बढेको बताए । बजार नियन्त्रण गर्नुपर्ने सरकार पदको भागबण्डामै सीमित रहेको बताउँदै चामल लगायतका खाद्यान्नमा पनि काजु पेस्तामा जस्तै मूल्य वृद्धि गर्ने काम भएको बताए । 

Advertisement

Advertisement