‘उद्योगी व्यवसायीको समस्या के के हुन् ? कसरी समाधान गर्ने ? म पूर्ण जानकार छु’

Advertisement

रामचन्द्र संघई
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ नयाँ नेतृत्व लिन व्यवसायीहरुको समूहले औपचारिक प्यानल घोषणा गरेको निकै समय भइसक्यो । सबैभन्दा पहिले मैले नै गरेको हो । टिम निर्माणको गृहकार्यमा लागेको पक्कै हो । चुनाव जित्नका लागि टिम निर्माण जरुरी नै छ । चुनावपछि त्यस्तो टिम रहँदैन् । सबै व्यवसायी एक भएर काम गर्ने हो । 

म २० वर्षदेखि महासंघमा निरन्तर लागेको छु  । सबैसँग मेरो राम्रै सम्बन्ध छ । सबै साथीहरुको हकहितका लागि मैले सक्ने सहयोग पनि गर्दै आएको छु । आवाज उठाउँदै आएको छु ।  

Advertisement

टिम निर्माण गर्ने भन्ने कुरा त्यति सहज रहेनछ ।सदस्यसहित पूरै प्यानल बनाउने भन्ने कुरा त्यति उपयुक्त पनि देखिँदैन । जसले जिते पनि भोलि त मिलेरै काम गर्ने हो । उद्योगी व्यवसायीहरुको छाता सस्था महासंघलाई थप सशक्त र मजवुत बनाउनु पनि छ । सबैको भावना समेट्नु पनि पर्छ । त्यसैले सदस्यमा केही साथीहरुलाई समेटे पनि पूरै प्यानल बनाउनेतर्फ मेरो सोच रहेन् । सक्षम साथीहरुले जितुन र महासंघ बलियो होस भन्ने मेरो मनसाय जहिल्यै छ ।

पछिल्लो समय मेरो टिमप्रतिको आकर्षण बढ्दै गएको छ । मेरो प्यानलले चुनाव जित्ने निश्चित छ । ज्योत्सनाजी मेरो प्यानलमा एशोसियटतर्फको उपाध्यक्ष बन्नुको कारण पनि यही नै हो । उहाँ पहिले अर्कै टिमबाट उठ्ने कि भन्ने कुरा थियो । तर ती यथार्थ कुरा थिएन । जुन बेला निर्णय गर्ने अन्तिम क्षण थियो, उहाँले मेरै प्यानलमा आउने निर्णय लिनुभयो ।

बैंकहरु पनि सरकारको नीति नियममा चल्ने हो । मनलाग्दी गर्ने छुट कसैलाई पनि हुँदैन । तरलताको समस्या र उच्च ब्याजदरको जुन कुरा छ, त्यो त समझदारीमा टुंगोमा पुग्ने बिषय हो । ब्याजदर घटाउने बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले समेत सरोकारवाला निकायबीच छलफल थालिसक्नु भएको छ । घटाउन निर्देशन दिइसकेको अवस्था छ । नेपाल राष्ट्र बैंकले पनि राजनीतिक फाइदा वेफाइदाको बिषय बनाएर बैंकविरुद्ध भइरहेको आन्दोलनलाई राम्रो मानेको छैन् । यसलाई राजनीतिको विषय बनाउनु त समग्र अर्थतन्त्रलाई नै घाटाको विषय हो । यो कुरा सबै उद्योगी व्यवसायी साथीहरुले बुझ्नुभएकै छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अबका अध्यक्ष श्री चन्द्र ढकालज्यूले त्यसको पहल त गर्नुभएको छ । तर त्यसले अहिलेसम्म सार्थकता पाएको भने छैन । तै पनि समय त छ नि । अर्थतन्त्र र समग्र उद्योगी व्यवसायी समस्यामा परेको बेला सर्वसम्मत नेतृत्व चयन हुनसक्दा त सुनमा सुगन्ध भने झै हुन्छ ।

महासंघलाई सबै उद्यमी व्यवसायीहरुको गैरराजनीतिक साझा राष्ट्रिय संस्थाका रुपमा विकसित गर्ने उद्देश्यले अध्यक्षको प्रत्यक्ष निर्वाचन नगर्ने र अघिल्लो कार्यकालमा निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्षमा पदोन्नति हुने वैधानिक पद्दति हामीले बसालेका छौं ।

यो पद्दतिलाई संस्थागत र दीगो बनाउने र क्रमशः वरिष्ठ उपाध्यक्ष लगायतका पदमा पनि सर्वसम्मतिको अभ्यासलाई विस्तार गर्दै लैजानु श्रेयस्कर हुनेछ भन्ने मैले महसुस गरेको छु । निर्वाचन नै भएको खण्डमा पनि त्यसलाई स्वस्थ र मित्रवत प्रतिस्पर्धाका आधारमा अघि बढाउ भन्ने मेरो मान्यता रहेको छ ।

मेरा स्पष्ट तीनवटा एजेण्डा छन् । त्यसलाई समेटेर मैले प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिसकेको छु । यसमा मुद्दा तीन विषय छन् । 

१. संगठनात्मक सुधार र समन्वय
२. सरकारसँग उद्योगी व्यवसायीका समस्या समाधानको पहल
३. आर्थिक विकास र अर्थतन्त्र सुधार

यी नै एजेण्डामा केन्द्रीत रहेर भिजन सन २०३० को प्रतिवद्धता पूरा गर्ने । नेपाल उद्योग वाणिज्य महासंघको साख अझै उचो राख्ने । जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, वैदेशिक लगानी भित्राउने वातावरणको निर्माणजस्ता विषयहरु नै मेरो प्राथमिकताका विषय रहने छन् ।

सबैलाई समेटेर, सबैको भावना बुझेर काम गर्छु । म उद्यम व्यवसायलाई नै आफ्नो लक्ष्य र उद्देश्य राख्ने, यही क्षेत्रको उन्नती प्रगतिमा रमाउने, उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने व्यक्ति हुँ । 

म अहिले त्रिवेणी ग्रुप अन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौं उद्योगहरु सञ्चालन गरिरहेको छु । करिव १८ हजार श्रमिक परिवार यी सबै उद्योगहरुमा आवद्ध छन् । मुलुकको कुल जीडीपीको अढाईदेखि तीन प्रतिशतको प्रत्यक्ष–अप्रत्यक्ष योगदान त्रिवेणी ग्रुपको रहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । साना तथा मझौला उद्यम व्यवसायमा पनि म संलग्न छु । साना तथा मझौला उद्यमी व्यवसायी साथीहरुले भोग्नुपरिरहेका समस्याबारे म पूर्ण जानकार छु । 

म विगत २० बर्षदेखि महासंघमा निरन्तर क्रियाशील छु । श्री रविभक्त श्रेष्ठ ज्यूको पालादेखि म महासंघमा काम गरिरहेको छु । साथीहरुले नै निर्वाचित गरेर पठाएको एशोसियट तर्फको उपाध्यक्षका रुपमा तथा रोजगारदाता परिषद्को सभापतिका रुपमा मैले शेखर गोल्छाज्यू नेतृत्वको कार्यसमितिमा अहिले काम गरिरहेको छु । त्यसैले उद्योगी व्यवसायीका समस्या के छन् ? त्यसको समाधान कसरी गर्ने ? भन्ने बिषयमा म पूर्ण जानकार छु ।

त्यसैले व्यवसायीको हकहितका पक्षमा निरन्तर लाग्ने छु । रोजगारी सिर्जना, उत्पादन वृद्धिलाई प्राथमिकता दिने छु । सरकारसमक्ष उद्यमी व्यवसायीका समस्या समाधानमा पहल गर्ने छु । महासंघमा मेरो निरन्तरको लगाव, उद्यमी व्यवसायीको सद्भाव एवं समर्थन र इमान्दारीता नै मेरो जितका आधार हुन । 

कुराकानीमा आधारित

Advertisement

Advertisement