इराकी जनता भन्छन्– अहिलेभन्दा त सद्दाम हुसेनकै शासन ठिक थियो

Advertisement

एजेन्सी । तत्कालिन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकाले आक्रमण गरेपछि दुई दशकदेखि अशान्ति र अस्थिरतामा फँसेका इराकी जनताले बरु सद्दाम कै शासन ठिक रहेको बताएका छन् । 

अन्तर्राष्ट्रियस्तरमा सर्वेक्षण गर्ने संस्था ग्यालप इन्टरनेश्नलले गरेको सर्वेक्षणमा बहुसंख्यक इराकी जनताले सद्दाम हुसेनको शासन मन पराएका हुन् । सद्दाम हुसेनसँग जैविक र रासायनिक हतियार रहेको र त्यसको प्रयोग गर्नसक्ने आशंकामा अमेरिकाले सन् २००३ मा आक्रमण गरेको थियो । सद्दाम हुसेनलाई सत्ताच्युत गरिएपछि उनलाई मृत्युदण्ड दिइए पनि इराकमा कुनै त्यस्तो आमनरसंहारकारी हतियार भेटिएको थिएन् । 

Advertisement

तेलको धनी यो मध्यपूर्वी राष्ट्रमा इराकमा अमेरिकाको स्वार्थ तेलमा पनि थियो, जसका लागि सद्दाम बाधक बन्दै आएका थिए । राष्ट्रपति सद्दाम हुसेन सत्ताच्युत भएको २०औं वार्षिकोत्सव सत्ताधारी पक्षले मनाउँदै गर्दा ग्यालपले आफ्नो सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिदिएको हो । 

उक्त संस्थाले इराकका १८ वटै प्रशासकीय क्षेत्रका दुई हजार २४ जनासँग गएको फेब्रुअरीमा प्रत्यक्ष भेटेर सर्वेक्षण गरेको थियो, जसमा ६० प्रतिशत जनता सद्दामको शासनको पक्षमा देखिएका छन् । देशको अवस्था दिनप्रतिदिन खराब बन्दै गएको बेला इराकीले सद्दामलाई सम्झिने क्रम बढेर गएको छ । 

इराकमा सन् २००३ को अमेरिकी आक्रमण र सत्ता पलटपछि त्यहाँको बहुसङ्ख्यक शिया अरब समुदाय सत्तामा हावी भएको छ भने सुन्नी, अरब कुर्द र अन्य अल्पसङ्ख्यक समुदाय असन्तुष्ट बन्दै आएको छ । अहिले इराकमा
साम्प्रदायिक सदभाव पनि बिग्रिएर गएको सर्वेक्षणबाट देखिएको छ । सद्दाम कालमा निकै खुशी र शान्तिपूर्ण जीवनयापन गर्दै आएका इराकी अहिले हिंसा, अराजकता, भ्रष्टाचारको सामना गर्दै आएका छन् भने देश पनि गरिव बन्दै गएको छ । 

सद्दामको शासनपछिको गृहयुद्धका कारण दशौं हजार निर्दोष इराकीले ज्यान गुमाउनु परेको छ । अमेरिकाले इराकमा आफूले गरेको आक्रमणको पुष्टि गर्ने प्रयास गरे पनि सकेको छैन् । यता इराकमा अमेरिका विरोधी भावना पनि बढ्दै गएको छ । उनीहरुको नजरमा अमेरिकाले इराकको तेल र अरु प्राकृतिक साधन चोर्न सद्दामलाई सिध्याउने र इराकमा आक्रमण गरेको ठान्नेगरेको अध्ययनबाट देखिएको बीबीसीले जनाएको छ । 

Advertisement

Advertisement