परामर्श सेवा प्रदान गर्ने बेलायतको ‘बोर्डरलेस कन्सल्टिङ’ले नेपालमा रु. छ अर्ब लगानी गर्ने

Advertisement

काठमाडौं। बेलायतको ‘बोर्डरलेस कन्सल्टिङ’ कम्पनीले नेपालमा झण्डै छ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । विगत ३० वर्षदेखि बेलायतमा व्यापारिक योजना बनाउन परामर्श सेवा प्रदान गर्दै आएको यो कम्पनीले पाँच अर्ब ९५ करोड लगानी गर्न स्वीकृति लिएको हो । 

उद्योग विभागले बोर्डरलेस कन्सल्टिङ कर्पोरेशन इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रा. लि.लाई लगानी स्वीकृति दिएको बताएको छ । कम्पनीले स्वास्थ्य, जलविद्युत आयोजना, पर्यटन, सुचना प्रविधि क्षेत्र, लजिस्टिक र हवाई क्षेत्रमा लगानी गर्ने जनाएको छ । कम्पनीमा सतप्रतिशत विदेशी लगानी रहेको छ ।

Advertisement

बोर्डरलेस कम्पनीको केन्द्रीय कार्यालय लन्डनमा रहेको छ भने सहायक कार्यालय संयुक्त अरब इमिरेट्सको दुवई, पोर्चुगलको सान्तरिम, इस्टोनियाको टालिनमा रहेको छ । कम्पनीले एकाउन्टिङ एण्ड फाइनान्स, बैंकिङ, ट्याक्स एण्ड ट्रेजरी, उत्पादनशील उद्योग, जनशक्ति लगायत क्षेत्रमा परामर्श सेवा प्रदान गर्दै आएको छ । कम्पनीले ३० वटा देशमा लगानी गरिसकेको जनाइएको छ । 

विभागका एक कर्मचारीले बोर्डरलेसले लगानी ल्याउने बढी संभावना रहेको दावी गरे । विभागले लगानी स्वीकृति दिएका ठूला लगानीलाई शंकाले हेर्ने गरिएको भन्दै भने, ‘विदेशी लगानी स्वीकृति लिएपछि लगानी ल्याउने कि नल्याउने भन्ने विषयमा शंकाले हेर्ने गरिन्छ तर यो कम्पनीले लगानी ल्याउने देखिएको छ ।’

सामूहिक विदेशी लगानीकर्तालाई मध्यनजर गर्दै सरकारले केही वर्षअघि कार्यविधि तयार गरेको थियो । उक्त कार्यविधि अनुसार विभागमा चार वटा इन्भेष्टमेन्ट कम्पनी दर्ता भइसकेको छन्, जसमध्ये दाङ सिमेन्टमा सबैभन्दा धेरै एचएस इन्भेष्टमेन्ट कम्पनीले १३ अर्ब रुपियाँ लगानी स्वीकृत गराएको छ ।

यीमध्ये अधिकांश लगानी नेपाल भित्रिसकेको विभागका ती कर्मचारीले बताए । यस्तैगरी, २० जना चिनियाँ लगानीकर्ता मिलेर छ अर्ब रुपियाँ, स्पेनिस लगानीकर्ताले उर्जामा लगानी गर्ने भन्दै चार अर्ब रुपियाँको लगानी स्वीकृत गराइसकेका छन् । तर यी पछिल्ला दुई कम्पनीले भने लगानी ल्याउनेमा शंका उत्पन्न भएको छ । उद्योग दर्ता भएको दुई वर्ष पुगिसक्दा पनि नेपालमा लगानी भित्रिएको छैन् । 

Advertisement

Advertisement