रु. तीस लाख लगानीमा खसीबोका मोटो बनाउने भटमासको पिना बिक्री गर्दै सिग्देल

Advertisement

काठमाडौं । सन्तोषकुमार सिग्देलले ३० लाख रुपियाँ लगानीमा खसीबोकाको दाना आपूर्ति सुरु गरेको आठ बर्ष भयो । उनको  ‘सिग्देल फिड एण्ड फुड सप्लायर्स’ले भटमासको पिना र दालको चुनी बिक्री गर्दै आएको छ । 

सिग्देलको कम्पनीमा १२ जना कर्मचारीले रोजगारी पनि पाएका छन् । चन्द्रागिरि तीनथानाबाट भटमासको पिनाको थोक व्यापार गर्दै आएका उनले यस्तो पिना भारतबाट आयात गर्छन् । भटमासको पिना विशेषगरी बाख्रा पालन गर्ने कृषकले खोज्ने गर्छन् । यस्तो पिनामा प्रोटिनको मात्र बढी हुने भएकाले खसीबोकामा मासु बढी लाग्छ । खसीबोकालाई मोटो बनाउन किसानले भटमासको पिना खोज्ने सिग्देलले बताए । 
 
तर उनी विगत एक बर्षदेखिको आफ्नो व्यापारबाट खुसी छैनन् । आर्थिक मन्दीका कारण गएको एक बर्षदेखि व्यापार राम्रो हुन नसकेको सिग्देलको गुनासो छ । उनले व्यवसाय सुरु गरेदेखि हरेक बर्ष ७० लाखको कारोबार हुने गरेकोमा गएको एक बर्षमा जम्मा ४० लाख रुपियाँको कारोबार हुन पनि मुस्किल भएको सुनाए । 

Advertisement

कृषि फार्म खोल्दै आएका कृषकहरुलाई बैंक र सहकारी संस्थाले ऋण दिन कम गर्दा भटमासको पिनाको व्यापार पनि कम भएको सिग्देलले बताए । उनले भने, ‘बैंक र सहकारीहरुले ऋण दिन छोडे । आर्थिक क्षेत्र शिथिल छ । किसानहरुको पनि मनोबल कमजोर भएको अवस्था छ । बचत गरेकै पैसा फिर्ता नपाउने अवस्था छ । ऋण कसरी पाउने ? यस्तो भएपछि हाम्रो पनि व्यापारमा असर परेको हो ।’ 

आर्थिक क्षेत्र र व्यापार व्यवसायमा मन्दी आउनुमा सरकारको कमजोरी भएको सिग्देलको विश्लेषण छ । उनले सरकार र दलहरु आर्थिक विकास र अर्थतन्त्रको सुधारभन्दा पनि सरकार बनाउने र गिराउने कुरामा केन्द्रीत रहेको गुनासो गरे । 

सिग्देलले आफूले बिक्री गर्ने पिना भक्तपुर, ललितपुर, बनेपा, नुवाकोट, झापा, मोरङ, सुन्सरी, खोलुखुम्बु, रसुवालगायतका ठाउँका कृषकहरुलाई सप्लाई गर्ने गरेको बताए । उनले आफ्नो गोदामबाट एक किलो भटमासको पिना प्रतिकिलो ९८ रुपियाँमा बिक्री गर्दै आएका छन् । दालको चुनी आठ महिनाअघि किलोको ३७ रुपियाँमा बिक्री गर्ने गरेकोमा अहिले ५० रुपियाँ पुगेको सिग्देलले जानकारी दिए । 

भैरहवा र वीरगञ्जमा दाल उत्पादन गर्ने मिल नचल्दा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको र मूल्य पनि बढेको उनको भनाई छ । सिग्देलले भटमासको पिनासँगै पशुपालक किसानका लागि आवश्यक सामग्रीहरु सुपथ मूल्यमा बिक्री गर्ने गरेको बताए । 

व्यवसायी सिग्देलले उधारो कारोबारबाट आफू पीडित भएको पनि सुनाए । उनले बजारबाट उठाउन बाँकी उधारो २० लाख रुपियाँभन्दा बढी रहेको बताए । यस्तो समस्या सरकारका कारण निम्तिएको सिग्देलको आरोप छ । उनले उधारो कारोबार निरुत्साहित गर्न सरकारले कडा नीति ल्याउनुपर्ने बताए । 

Advertisement

Advertisement