सोनपापडीको व्यापारमा गिरावटपछि अर्याल भन्छन– सरकारले त केही गरेन, ब्याजदर घटे हुन्थ्यो

Advertisement

काठमाडौं । रुपन्देहीस्थित ‘अर्याल'को फुड्स प्रालि.’ सोनपापडी, ललीपप, केक जस्ता वस्तुहरुको उत्पादनका क्षेत्रमा स्थापित कम्पनी हो । मोहन अर्यालले विगत छ वर्षदेखि यो कम्पनीमार्फत चकलेट, मिठाईजन्य वस्तुहरु बिक्री गर्दै आएका छन् । 

डेढ करोड रुपियाँ लगानीमा व्यवसाय सुरु गरेका उनले आफूले उत्पादन गर्ने सोनपापडीलगायतका उत्पादन थुप्रै जिल्लामा आफ्ना डिलरहरुमार्फत बिक्री गर्दै आएका छन् । अर्यालले भने, ‘कोरोनाअघि ५६ वटा डिलरमार्फत सामान बिक्री गर्दै आएका थियौं । केही समययता डिलरले व्यापार गर्न नसकेपछि घटेर २६ वटामा झरेको छ ।’ 

Advertisement

सोनपापडी बिक्री भएको ठाउँमा मात्रै डिलर कायम राखिएको उनले बताए । अर्यालले भने, ‘देशको आर्थिक अवस्थाले गर्दा आधा डिलर बन्द गर्नुपर्यो । भएको डिलरबाट पनि राम्रो व्यापार हुन सकेको छैन् ।’ कोरोना महामारीपछि व्यापार ३० प्रतिशतमा खुम्चिएको उनले तितो अनुभव सुनाए । यद्यपि काठमाडौं उपत्यकामा १० वटा डिलरबाट अझै पनि अर्यालको सोनपापडीलगायतका उत्पादन बिक्री भइरहेको छ । 

अर्यालले भने, ‘कोरोनाअघि दैनिक १५ कार्टुन सोनपापडी बिक्री हुन्थ्यो । अहिले माग घटेपछि दिनको जम्मा दुई कार्टुन बिक्री हुने गरेको छ । उनले मासिक सात लाख रुपियाँको कारोबार हुने गरेको सुनाए । ‘अर्याल’को ब्राण्ड भनेपछि बजारबाट राम्रो प्रतिक्रिया आउने गरेको बताउँदै अर्यालले आफ्ना उत्पादनहरु गुणस्तरीय र स्वस्थकर हुने र माग, आवश्यकता र भण्डारण क्षमताअनुसार मात्रै उत्पादन हुने बताए । 

सोनपापडी उत्पादनका लागि घ्यू, नरिवलको तेल, सुकुमेल, चनाको पिठो प्रयोग हुन्छ । अर्याल फुड्सले चनाको पिठो मलेसियन ब्राण्डको प्रयोग गर्दै आएको छ । सोनपापडी उत्पादनका लागि भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको अर्यालले बताए । उनले आकार र संख्याअनुसार चार सयदेखि ४८० रुपियाँसम्ममा सोनपापडी बिक्री गर्दै आएका छन् । 

सरकारले देशमा उद्योग व्यवसाय शिथिल बन्दै जाँदा पनि कुनै वास्ता नगरेको अर्यालको गुनासो छ । उनले भने, ‘व्यापार होस नहोस्, कर उठाउन छोड्दैन् । उसले जानेको त्यति नै हो कर उठाउन । सरकारले यो कुरामा सहयोग गरेको छ भन्ने कुनै कुरा छैन् ।’ बैंकहरुले ऋणको ब्याजदर घटाइदियोस् भन्ने अर्यालको अपेक्षा छ । ब्याजदर कम भए लागत कम हुने र व्यवसाय गर्न सहज हुने उनले बताए । 

Advertisement

Advertisement