अर्गानिक मसला उत्पादन गर्दै आएका व्यवसायी कोलीको ठूलो ब्राण्ड स्थापित गर्ने योजना

Advertisement

काठमाडौं । रुपक कोलीले पाँच लाख रुपियाँ लगानीमा कैलालीमा मसला उद्योग सञ्चालन गरेको तीन बर्ष भयो । उनको ‘शुभ लाभ मसला उद्योग’ले अर्गानिक मसला उत्पादन तथा बिक्री गर्दै आएको छन् ।

कोलीले मसला उत्पादनका लागि पडाडी भेगका गाँउघर तिर उपलब्ध हुने गुर्जो, सुठो अदुवा, अलैंची, टिम्मुर जस्ता जडिबुटीजन्य वस्तुहरु मिसावट गर्ने गर्छन् । उनले भने, ‘हाम्रो उद्योगबाट उत्पादन हुने मसला अर्गानिक (प्राङ्गारिक) र केमिकल (रासायनिक पदार्थ)रहीत हुने भएकाले बजारमा आइने अरु मसलाभन्दा हाम्रो उत्पादन फरक छ । त्यही भएकाले अरु मसलाभन्दा हाम्रो उत्पादन केही महंगो पनि छ । तर स्वास्थ्यका लागि लाभदायक र स्वस्थकर हुन्छ ।’
 
कोलीले चिया मसला किलोको तीन हजार पाँच सयदेखि चार हजार रुपियाँसम्म, मिट मसला दुई हजार रुपियाँ, अरु साधारण मसला साढे आठ सयदेखि नौ सय रुपियाँमा बिक्री गर्दै आएका छन् । उनले मसला ५० ग्रामदेखि एक किलोसम्मको प्याकमा र खुल्ला पनि बिक्री गर्दै आएका छन् ।

Advertisement

कोलीले यस व्यवसायबाट आफूले मासिक सरदर एक लाख आम्दानी आम्दानी गर्ने गरेको बताए । आफूले मसला उत्पादन गर्न सुरु गरेदेखि गाँउका स्थानीयलाई मसला खरिद गर्न प्रायः बजार जान नपरेको सुनाए । कोलीले उत्पादन गर्ने मसला कैलालीका बजारहरुमा बिक्री हुने गरेको बताए । 

उनले डिलरसँग थोक कारोबार नगरी सिधै उपभोक्तालाई मसला बिक्री गर्ने भएकाले विचौलियाले फाइदा लिने अवस्था रहँदैन् । शुद्ध अर्गानिक उत्पादन भएकाले बेला बखतमा भारतीय उपभोक्ताले पनि अनलाइनबाट मगाउने गरेको कोलीले सुनाए । 

विशेषगरी आश्रम, ब्यारेक, होस्टेल, होटलहरुमा बिक्री गर्ने उद्देश्यले मसला उत्पादन सुरु गरेका उनले सोचेअनुरुप त्यस्ता क्षेत्रमा बिक्री गर्न नसकेको स्वीकार गरे । गर्मी मैसममा भन्दा मसला जाडो मौसममा बढी  बिक्री हुने गरेको उनको भनाई छ । 

कोलीको उद्योगमा साना ठूला गरी चार प्रकारका मसला उत्पादन गर्ने मेसिन छन् । उनले देशभित्र उब्जाउ भएका सामग्री उत्पादन कम, लागत बढी पर्न जाने भएकाले भारतबाट मसला उत्पादन गर्ने कच्चा पदार्थ आयात गर्नुपरेको बताए । 

कोलीले अब छिटै अर्गानिक मसलालाई प्रवर्द्धनसहित ब्राण्ड स्थापित गर्ने प्याकेजिङमा परिवर्तन गर्ने योजना सुनाए । यसले  उत्पादन तथा बिक्री बढ्ने बताउँदै उनले यस योजनाबाट अझ धेरैले रोजगारी पाउने अवसर पनि मिल्ने बताए । 

Advertisement

Advertisement