चार वर्षको आर्थिक विवरण हेरेर कारबाही

शुद्ध प्लस उत्पादन गर्ने विजार्ड फ्रेग्रान्सलाई ६२ करोड रुपियाँको मुद्दा

Advertisement

काठमाडौं। गुड्खा उत्पादन गर्ने विजार्ड फ्रेग्रान्स नेपाल प्रा.लि.विरुद्ध ६२ करोड रुपियाँको माग दाबी गर्दै मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले उक्त कम्पनीविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालतमा मुद्दा दायर गरेको हो । 

कम्पनीकको अन्तःशुल्क स्टिकर नलागेको केही प्याकेट शुद्ध प्लस पान मसाला, शुद्ध धनको प्याकेट फेला पारेको थियो । अनुसन्धानमा स्टिकर नलगाउनुमा कम्पनीकै कमजोरी पाइएको थियो । 

Advertisement

विभाग स्रोतका अनुसार कम्पनीको चार वर्षको कारोबार विवरण तानेर अनुसन्धान गरिएको थियो। चारै वर्ष कर छली गरेको भन्दै विभागले जरिवाना लगाएको छ । कम्पनीका सञ्चालकले एक वर्षको मात्रै जरिवाना लगाइदिन विभागसमक्ष आग्रह गरेका थिए । 

तर सो प्रस्ताव विभागले स्वीकार गरेन् । विभागले करिब एक महिनाअघि नै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि बल्ल खुलासा गरेको हो । कम्पनीका सञ्चालकहरुसँग विभागले ६२ करोड रुपियाँ बिगो माग गरेको छ । कम्पनीले तीन शीर्षकमा कर छली गरेको आरोप लगाएको छ । 

पहिलो शीर्षक अन्तशुल्क हो । गुट्खामा सरकारले प्रतिकिलोको हिसाबले कर लगाउँदै आएको छ । यसरी कम्पनीले गुट्खा जोखेर प्याकेट बाहिर नै स्टिकर टाँस्ने गर्दछ । कतिपय अवस्थामा गुड्खा कम्पनीहरुले करबाट खटिएका कर्मचारीलाई समेत छलेर उद्योगबाट सामान निकाली पसलसम्म पुर्याउने गरेका छन् । यसले गर्दा सबैभन्दा धेरै अन्तःशुल्क चोरी हुने उद्योगका रुपमा गुट्खालाई लिइएको छ।

यस्तै दोस्रो शीर्षक मूल्य अभिवृद्ध कर (भ्याट) र तेस्रोमा आयकर समेत छली गरेको आरोप विभागले लगाएको छ । कम्पनीका अध्यक्षमा वीरेन्द्र कनोडिया, उपाध्यक्षमा महेन्द्र कनोडिया रहेका छन् । कार्यकारी निर्देशकमा अभिनित कनोडिया छन् । उनीहरुविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

कम्पनी सञ्चालकहरुले भने आफूलाई ठूलो मूल्यको जरिवाना लगाउँदा उद्योग सञ्चालन गर्न नै कठिनाई हुने बताउँदै आएका छन । शुद्ध प्लस केही वर्षदेखि उपभोक्तामाझ लोकप्रियता कमाउँदै गएको थियो । तर राजस्व अनुसन्धानले कारबाही गरेपछि उद्योग बन्द हुने स्थितिमा पुगेको छ।

विभागले चालु आर्थिक वर्षको चैतसम्ममा राजस्व चुहावटसम्बन्धी २१ वटा मुद्दा टुङगाएको छ, जसबाट बिगो रकम मात्रै ९८ करोड ४० लाख माग गरिएको छ । यस्तै विदेशी विनिमयतर्फ १७ वटा मुद्दा टुङग्याएको छ, जसबाट आठ करोड ७८ लाख बिगो माग गरिएको छ।

विभागको महानिर्देशकमा नारायण सापकोटा आएपछि १२४ वटा भन्सार जाँचपास भएका गाडीलाई नियन्त्रणमा लिइएको छ । जसबाट आठ करोड ७८ लाख बिगो माग गरिएको छ। यस्तै भेहिकल कन्साइनमेन्ट ट्राकिङ सिस्टम (भीसीटीएस)तर्फ दुई सय वटा सवारीलाई कारबाही गरिएको छ, जसबाट ७७ लाख ३८ हजार बिगो माग दाबी गरिएको छ।    

Advertisement

Advertisement