नेपालका कुटनीतिज्ञ र तिनीहरुले सम्पादन गरेका कार्यहरु

Advertisement

पदम भण्डारी
नेपालको परराष्ट्र मन्त्रालय अन्य देशहरुसँगका मामिलाहरु हेर्ने सबैभन्दा उच्च सरकारी निकाय हो । सरकारले कुनै पनि देशसँग गर्ने कुटनीतिक तथा औपचारिक सम्बन्धहरु यही मन्त्रालयमार्फत गर्दछ । सुरुमा जैशी कोठाको नाममा स्थापना भई प्रधानमन्त्री भीमसेन थापाको पालामा मुन्सीखाना भनिने सरकारी कार्यालयलाई प्रकारान्तमा परराष्ट्र विभाग बनाइयो र हाल उक्त विभाग परराष्ट्र मन्त्रालयको नामले चिनिन्छ।

नेपालको संविधानमा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त तथा सरकारको नीति तथा कार्यक्रमबमोजिम व्यापक राष्ट्रिय स्वार्थको अभिवृद्धि गर्न परराष्ट्र नीतिको निर्माण गरि प्रभावकारी रुपमा लागू गर्नु, सरकारको नीति र मार्गदर्शनअनुसार नेपालको परराष्ट्र नीति सञ्चालन गर्नु, नेपालको सामाजिक एवम् आर्थिक विकासको प्रवर्द्धनको निम्ति नेपालको द्विपक्षीय, क्षेत्रीय एवम् बहुपक्षीय सम्बन्धलाई विकसित गर्नु, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता तथा राष्ट्रिय स्वार्थलाई विदेशमा अभिवृद्धि गर्नु, आपसी हित, सम्मान र भाइचाराको आधारमा मित्रराष्ट्रहरु खास गरि छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध विस्तार गर्नु, अन्तर्राष्ट्रिय, शान्ति, सुरक्षा एवम् विकासको निम्ति संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुमा सक्रिय भूमिका खेल्नु, विश्वको बदलिँदो परिवेशअनुरुप असंलग्न अभियानमा सार्थक एवम् सकारात्मक रुपले भूमिका निर्वाह गर्नु, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)लाई क्षेत्रीय सहयोग अभिवृद्धि गर्न सक्षम बनाउन सक्रिय भूमिका निवार्ह गर्नु, नेपालको आर्थिक कूटनीतिलाई सक्रिय रुपमा लागू गर्दै नेपालको व्यापार, लगानी, आर्थिक सहयोग एवं पर्यटनको प्रवर्द्धन गरि नेपालका प्राकृतिक स्रोतहरुको विकासमा सहयोग गर्नु यस मन्त्रालयको जिम्मेवारीहरु हुन् । यी जिम्मेवारीहरु पूरा गर्नका लागि सरकारले राजदूतावासहरु, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, महावाणिज्य दूतावासहरु स्थापना गरेको छ । नेपालका राजदूतावासहरु भएका स्थानहरुमा अबुधावी, बैङ्कक, बेइजिङ्ग, बर्लिन, ब्रसेल्स, कायरो, कोलम्बो,कोपनहेगन, ढाका, दोहा, इस्लामावाद, लण्डन, मस्को, नयाँ दिल्ली, पेरिस, रियाद, टोकियो, वासिङ्टन डि.सी., याङगुन, बहराइन, सियोल, क्यानवेरा र क्वालालम्पुर हुन भने राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग भएका स्थानहरुमा भियना, न्युयोर्क र जेनेभा हुन् । त्यस्तै नेपाली महावाणिज्य दूतावास भएका स्थानहरु जेदा, न्युयोर्क, हङकङ, ल्हासा, कोलकाता र दिल्ली हुन् । 

Advertisement

यी स्थानहरुबाट कुटनीतिक पदमा आसिन कूटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयले तोकेको जिम्मेवारीहरु पुरा गर्नुपर्ने हुन्छ । कूटनीतिज्ञ भनेको यस्तो अधिकारी हो जसले आफ्नो राष्ट्र र अन्य देशहरुबीच पारस्परिक सम्बन्धलाई बढावा दिन जानकारी आदानप्रदान गरेर आफ्नो देशको हितलाई अगाडि बढाउन मद्दत गर्न अन्तर्राष्ट्रिय सम्बन्धहरु कायम गर्दछ। कूटनीतिज्ञहरुले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको विकासलाई प्रभाव पार्न सक्छन्। तिनीहरु प्रायः सामाजिक, आर्थिक, राजनीतिक, र वातावरणीय मुद्दाहरुको व्यवस्थापन गर्नुका साथै शान्ति, युद्ध, मानव अधिकारका साथै वार्ता र सन्धिहरु गर्नका लागि भूमिका खेल्छन् । 

कूटनीतिज्ञले अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दछ। सरकारको प्रतिनिधिको रुपमा, उनीहरुले आफ्नो सरकारको राजनीतिक स्वार्थसँग मिल्दोजुल्दो कार्यहरुको वकालत गर्छन्। त्यसैले विदेश नीति निर्माणमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुन्छ । कूटनीतिज्ञले सामान्यतया देश र शक्ति धारकहरुबीच अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्ने, आफ्नो देश र अन्य देशहरुको हितको रक्षा गर्दै सम्झौता र सम्मेलनहरु सहजीकरण गर्ने, व्यापार र वाणिज्यबारे जानकारी प्रवर्द्धन गर्ने आदि काम गर्नुपर्छ । 

कूटनीतिज्ञको भूमिका शिष्टाचारभन्दा बाहिरको हुन्छ। संक्षेपमा, तिनीहरुले अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिन्छन् र आफ्नो देशको हितसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरु सङ्कलन गर्छन् र राजनीतिज्ञले आधिकारिकरुपमा समर्थन गर्नुअघि वार्तामा संलग्न हुन्छन् । यसबाहेक एक कूटनीतिज्ञसँग तल उल्लेखित भूमिकाहरु निर्वाह गर्नसक्ने क्षमता हुनुपर्छः 

कन्सुलरको भूमिकाः कुटनीतिज्ञहरुले भिसा जारी गर्ने, कागजातहरु प्रमाणीकरण गर्ने, नोटरी सेवाहरु दिने र विदेश भ्रमणमा रहेका आफ्नो देशका नागरिकहरुलाई सहयोग प्रदान गर्नुपर्छ । कन्सुलर अधिकारीहरुले आफ्ना नागरिकहरुलाई स्थानीय कानून र नियमहरुको जानकारी दिएर र यात्रा सुरक्षामा सल्लाह दिएर उनीहरुको अधिकारको रक्षा गर्न मद्दत गर्नुपर्छ । उनीहरुले खाँचोमा परेकाहरुलाई आपतकालीन सहायता पनि प्रदान गर्नुपर्छ र आफ्नो देशको दूतावास वा वाणिज्य दूतावास र स्थानीय अधिकारीहरुबीचको सम्पर्कको रुपमा काम गर्नुपर्छ । यसका अतिरिक्त कन्सुलर अधिकारीहरुले विदेशबाट आएका विद्यार्थीहरु र व्यापारिक नेताहरुका लागि कार्यक्रमहरु आयोजना गरेर, विभिन्न संस्कृतिका मानिसहरुबीचको बलियो सम्बन्धलाई बढावा दिन प्रायः सांस्कृतिक दूतको रुपमा समेत सेवा गर्नुपर्छ ।  

आर्थिक अधिकारीको भूमिकाः कुटनीतिज्ञहरुले आर्थिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ । लगानीका अवसरहरु र सम्भावित जोखिमहरुमा सल्लाह दिने, आर्थिक प्रवृत्ति र कार्यसम्पादन रिपोर्टहरुको विश्लेषण गर्ने, वित्तीय विवरणहरु वा अन्य स्रोतहरुबाट डाटा विश्लेषण गर्ने आदि काम गर्नुपर्छ । 

व्यवस्थापन अधिकारीको भूमिकाः कूटनीतिज्ञले व्यवस्थापन अधिकारीको रुपमा समेत काम गर्नुपर्छ । तिनीहरुले आफ्नो तोकिएको देशहरुमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र सुरक्षा मुद्दाहरुको विश्लेषण र रिपोर्ट गर्नुपर्छ । कूटनीतिक पहलहरुलाई समर्थन गर्न सरकारी अधिकारीहरु, गैरसरकारी संस्थाहरु, विश्वविद्यालयहरु र अन्य संस्थाहरुसँग सम्बन्ध विकास गर्न जिम्मेवार हुनुपर्छ । तिनीहरुले दूतावास गतिविधिहरुसँग सम्बन्धित निर्माण परियोजनाहरुको लागि अनुबन्धको निरीक्षण र संशाधनको कुशल उपयोगको लागि योजनाहरुको विकास, कर्मचारी व्यवस्थापनका साथै वित्तीय र बजेट योजनासहित दूतावासको दैनिक कार्यहरु व्यवस्थापन गर्नुपर्छ । 

राजनीतिक अधिकारीको भूमिकाः कूटनीतिज्ञले देशहरुबीचको सञ्चारको व्यवस्थापन र सुविधाको लागि काम गर्नुपर्छ । तिनीहरुले नीति, रणनीति, वर्तमान घटनाहरु र अन्य अन्तर्राष्ट्रिय मामिलाहरुमा सल्लाह र विश्लेषण प्रस्ताव गरेर सरकारलाई सहयोग प्रदान गर्नुपर्छ । थप रुपमा तिनीहरुले राष्ट्रहरुबीचको विवादहरु समाधान गर्न र वार्ताहरु व्यवस्थित रुपमा सञ्चालनको सुनिश्चितता गर्नुपर्छ । विदेशमा आफ्नो देशको प्रतिनिधिको रुपमा पनि सेवा गर्नुपर्छ र विदेशमा हुँदा आफ्नै राष्ट्रका नागरिकहरुको लागि सम्पर्क बिन्दुको रुपमा काम गर्नुपर्छ । यसबाहेक विदेशी सरकारहरुलाई अन्य देशहरुसँगको सम्बन्धलाई कसरी राम्रोसँग सम्हाल्ने भनेर सल्लाह दिनुपर्छ, जसले गर्दा विश्वव्यापीरुपमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्दछ। यी कार्यहरुमार्फत राजनीतिक अधिकारीको रुपमा देशहरुबीचको सकारात्मक कूटनीतिक सम्बन्ध कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । 

व्यापार अधिकारीको भूमिकाः कूटनीतिज्ञहरु विश्वव्यापी व्यापार र व्यावसायिक सम्बन्धका राजदूतसमेत हुन् । तिनीहरु विदेशी सरकारहरु, व्यवसायहरु र सरोकारवालाहरुसँगको सम्बन्ध विकास, व्यवस्थापन र दिगो रुपमा विदेशमा आफ्नो देशको आर्थिक हितलाई बढावा दिनुपर्छ । कूटनीतिज्ञले व्यापारका लागि नयाँ अवसरहरु पहिचान गर्न, अवस्थित बजारहरु सुधार गर्न, द्विपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने विवादहरु वा चुनौतीहरु समाधान गर्न र व्यापारको लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्छ । व्यापार सम्बन्धित मामिलाहरुमा प्राविधिक सल्लाह प्रदान गर्ने, वार्तामा संलग्न हुने, अन्तर्राष्ट्रिय बैठकहरुमा आफ्नो सरकारको प्रतिनिधित्व गर्ने र व्यापार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुको अनुपालन सुनिश्चित गर्नुपर्छ । कतिपय अवस्थामा उनीहरुलाई आर्थिक संकटको समयमा मार्गदर्शन प्रदान गर्न पनि आह्वान गर्न सकिन्छ। अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन र आफ्नो देशलाई आर्थिक लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। 

कूटनीतिज्ञले दैनिकजसो विदेशी दूतावासहरु, उच्च आयोगहरु एवं वाणिज्य दूतावासहरुसँग लिखित पत्राचार र टेलिफोनद्वारा विदेशी सम्पर्कहरु, विभागहरु र सार्वजनिक व्यक्तित्वहरुलाई जवाफ दिने, समस्यामा परेकाहरुको समाधानका लागि पहल गर्ने, रिपोर्टहरु लेख्ने, प्रमाणित गर्ने, कूटनीतिक र मन्त्रीस्तरीय भ्रमणहरु सहज रुपमा सञ्चालन भएको सुनिश्चित गर्ने, यात्रीहरुलाई मार्गदर्शन गर्ने र यससँग सम्बन्धित जानकारी अपडेट गर्ने तथा नीतिगत कार्यमा योगदान गर्ने, विभागीय बजेट व्यवस्थापन गर्ने र विशिष्ट विभागीय गतिविधिहरु सञ्चालन गर्नुपर्छ।  

कूटनीतिज्ञले विभिन्न विश्वास र मूल्यमान्यता भएका विभिन्न संस्कृतिका मानिसहरुसँग सहकार्य गर्नुपर्ने हुनाले उनीहरुलाई आफ्नो काम कुशलतापूर्वक गर्नका लागि धेरै सीपहरुले सुसज्जित हुनुपर्छ। कूटनीतिज्ञलाई आवश्यक पर्ने आवश्यक सीपहरुमा वार्ता कौशल, नेतृत्व कौशल, लिखित संचार कौशल, विदेशी भाषा कौशल, अनुसन्धान सीपहरुका साथै विभिन्न संस्कृतिहरु बुझेको हुनुपर्छ । कुटनीतिज्ञले अन्य राष्ट्रहरुको दृष्टिकोणलाई सम्मान गर्ने हुनुपर्छ। 

कूटनीतिज्ञ भनेको अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो । परराष्ट्र नीतिका स्थायी र परिवर्तनशील पक्षहरू हुन्छन् । राष्ट्रिय हितका आधारहरु स्थायी प्रकृतिका हुने भएता पनि बेलाबखत हुने राजनीतिक परिवर्तनले राष्ट्रिय प्राथमिकताहरु, अन्तर्राष्ट्रिय सम्बन्धहरु र त्यसबाट आउने फेरबदलले परराष्ट्र नीतिलाई प्रभाव पार्नसक्छ । त्यसैले नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिको सुझबुझपूर्ण अवलम्बन गरि राष्ट्रिय हितका लागि काम गर्नुपर्छ । हाम्रा कुटनीतिज्ञहरु र तिनीहरुले सम्पादन गरेका कार्यहरुको पूनरावलोकन गर्नु जरुरी छ । 

(लेखक विगत ३५ वर्ष देखि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र कुटनीतिक नियोगहरुसंग समन्वय गरि विकास कार्यहरुको योजना र कार्यान्वयनमा संग्लग्न हुनुका साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफरसरको रुपमा समेत आवद्ध छन् ।)

Advertisement

Advertisement