भन्सार कार्यालय निरीक्षण गर्दै अर्थमन्त्रीले भने– करदातालाई दुःख नदिईकन कर बढाउनुस्

Advertisement

काठमाडौं । कर्मचारीको मूल्यांकन कामका आधारमा हुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । बिहीबार विराटनगर भन्सार कार्यालय निरीक्षणका क्रममा उनले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न कर्मचारीलाई निर्देशन दिएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । 

महतले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन् । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं । मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ । राम्रो गर्न कोसिस गरिराख्नु भएको छ ।’

Advertisement

कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ भन्दै उनले यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने आफूले अपेक्षा गरेको बताए । महतले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन । तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु ।’

महतले सेवाग्राहीलाई सहज र सौहाद्रपूर्ण वातावरण निर्माण गर्न सुझाव दिँदै नियम, कानुनअनुसार उनीहरुले तिर्नुपर्ने कुरा छ भने तिराउन र त्यस्तो कुरामा सम्झौता नगर्न निर्देशन दिए । कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउने उनले बताए । महतले कामभन्दा बाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तलमाथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले नगर्ने बताए ।

Advertisement

Advertisement