बैंक तथा वित्तीय संस्था परिसंघले वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन गर्ने

Advertisement

काठमाडौं । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले यही आउँदो वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन २०८० आयोजना गर्न लागेको जानकारी दिएको छ । सिविफिनले शुक्रबार पत्रकार सम्मेलन गरी शिखर सम्मेलनबारे जानकारी दिएको हो । 

नेपाल बिजनेस इन्ष्टिच्युटसँग मिलेर आयोजना गर्न लागिएको सम्मेलन ‘अर्थतन्त्रका वर्तमान चुनौति तथा सवृद्धिको मार्गचित’ विषयमा केन्द्रीत हुनेछ । सम्मेलनबारे जानकारी दिँदै सिविफिनका अध्यक्ष पवन गोल्याणले सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौति र समाधानका विषयमा छलफल हुने बताए । 

Advertisement

हाल उद्योगी व्यवसायीको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा संकुचन आई उत्पादन प्रभावित भएको भन्दै उनले यस्ता समस्या समाधानका लागि सरोकारवालाहरुबाट विशेष प्रस्तुती हुने बताए । 

गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुले सबै क्षेत्रमा लगानी गरेको तर ८५ प्रतिशत ट्रेडिङ क्षेत्रमा रहेको बताउँदै  दिगो विकासमा क्षेत्रमा सधैं लगानी अभाव हुने गरेको बताए । उनले त्यस्ता क्षेत्रमा कुनै पनि लगानी नगरेको बताए । गोल्याणले भने, ‘नभएर नगरेको हो या भएर नपाएको हो ? भन्ने कुरामा २४ गते छलफल हुनेछ ।’ 

सिबिफिनले दिगो विकासको लागि कृषिलाई प्राथमिकता दिनुपर्छ भनेर जोड दिँदै आएको बताउँदै कृषि क्षेत्रमा साढे चार खर्ब जतिको आयात भएको बताए । यसलाई घटाउन कृषि उत्पादन गरेर निर्यात बढाउन जरुरी रहेको गोल्याणले बताए । उनले कृषिको लागि बैंकले ठूलो लगानी  गर्नुपर्ने बताए । 

सम्मेलनमा अर्थमन्त्री प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट कमर सलिम, वरिष्ठ उद्यमी विनोद चौधरी, अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, नेपाल उद्योग बाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, बोर्ल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अल्मानसलगायत विभिन्न देशका राजदूत, अर्थशास्त्री, उद्यमी, सहभागी हुने जनाइएको छ । 

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयोजकको भनाई छ । 

Advertisement

Advertisement