छ महिनामै सात अर्बको व्यापार गर्दै ‘टप टेन’मा पर्न एफवान सफ्ट सफल, कसरी ?

Advertisement

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि. उत्कृष्ट १० कम्पनीको सूचीमा परेको छ । नेपाल आयल निगम, धेरै कारोबार गर्ने केही वाणिज्य बैंक र अरु केही कम्पनीपछि एफवान सफ्ट धेरै कारोबार गर्ने नवौं स्थानमा परेको हो ।

कर्पोरेट नेपाललाई प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुससम्म)मा उसले सात अर्ब दुई करोड ९५ लाख रुपियाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब ६६ करोड रुपियाँ कारोबार गर्दै १३औं स्थानमा परेको थियो । अहिले ६ महिनाको व्यापार हेर्दा एफवान सफ्ट ‘टप टेन’ (उत्कृष्ट दश)मा पर्ने संभावना बढेको छ । यद्यपि पछिल्लो ६ महिनामा उसले कति व्यापार गर्छ ? त्यसमा उसको स्थान निर्धारण हुनेछ । 

Advertisement

उसका कतिपय कारोबार विवादित र शंकास्पद भए पनि कम्पनीको कारोबारमा उछाल आएको छ भने लगानीकर्ताहरु मालामाल भएका छन् । प्रविधि तथा वित्तीय कारोबारका क्षेत्रमा आक्रामकरुपमा आएको र अर्बपति क्लबमा पर्न सफल एफवान सफ्टको सञ्चालकमा विश्वास ढकाल, अस्गर अली, संभव सिरोहिया, सुवास सापकोटा लगायत छन् । 

अवैध बेटिङ (अनलाइनबाट खेलिने जुवा) कारोबारमा समेत संलग्न रही ठूलो आम्दानी गर्दै आएको एफवान सफ्टको विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाको २० प्रतिशत शेयर र उक्त कम्पनीको व्यवस्थापन एक नाम चलेको मिडियाका सञ्चालकलाई दिएर सरकारले गर्नसक्ने संभावित छानविन र कारवाहीबाट आफूलाई सुरक्षित गर्दै आएको छ ।     

एफवान सफ्टको कारोबार शंकास्पद देखिएको भन्दै हालै ठूला करदाता कार्यालयले उसको वित्तीय विवरणको ‘फुल अडिट’ सुरु गरेको छ । एफवान सफ्टअन्तर्गतका विभिन्न कम्पनीमध्ये फोन पे र ई–सेवा अधिक कारोबार गर्ने कम्पनीमा पर्छन् । ई–सेवाले अवैध बेटिङ कम्पनी वान एक्स बेटिङसँग सहकार्य गरी आफ्नो सूचना बिक्री गर्दै आएको छ । उक्त कारोबारबाट नै ई–सेवा र एफवान सफ्टको कारोबारमा उछाल आएको हुनसक्ने आंकलन गरिएको छ।  

उन्नाइस वर्ष अगाडी स्थापना भएको यो कम्पनीले नेपालको डिजिटल प्रविधि र वित्तीय कारोबारको क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगट्न सफल भएको छ । एफवान सफ्टको अध्यक्षमा विश्वास ढकाल छन् ।  उनी पछिल्लो समय सिंगापुरमा बसेर नेपालको ब्यापार निगरानी गर्ने र ठूलठूला डिल सिंगापुरमा नै गर्दै आएका छन् । 

बढ्दो प्रविधिको प्रयोग र विद्युतीय भुक्तानी सेवातर्फ जानुपर्ने मानिसहरुको बाध्यताले गर्दा एफवान सफ्ट र ई–सेवाको व्यापार अझै बढेर जाने देखिन्छ । सरकारले प्रविधि निर्यातमा अनुदान दिने घोषणा पनि गरेको छ । यसले एफवान सफ्टलाई थप लाभान्वित बनाउने छ ।

एफवान सफ्टका सहायक कम्पनीहरु नौ वटा छन्, जसमा ई–सेवा, फोन–पे, कोग्नेथ हेल्थ, दियालो टेक्नोलोजी, दर्शन टेक, ई–सेवा मनि ट्रान्सफर, एक्सटेन्सो डाटा, लोजिका बिन्स, स्वस्तिक कलेज छन् । पहिलो डिजिटल वालेट ई–सेवासँग पछि आएका कम्पनीहरुलाई प्रतिस्पर्धा गर्न मुस्किल भइरहेको छ । 

विद्युतीय भुक्तानी क्षेत्रको ठूलो बजार उसले ओगट्दै आएको छ । ई–सेवा एपको सक्रिय प्रयोगकर्ता ५० लाखभन्दा बढी रहेको बताइन्छ ।

यसैगरी, कम्पनीको अर्को लोकप्रिय प्रोडक्ट फोन–पे हो।  क्युआर भुक्तानीका क्षेत्रमा यो प्रोडक्टले ठूलो बजार लिँदै आएको छ । फोन–पे सन् २००४ देखि सञ्चालनमा आएको हो । यो कम्पनीले ५८ भन्दा बढी कम्पनीसँग सम्झौता गरेको जनाएको छ भने आफ्नो एप्लिकेशन पाँच लाखभन्दा बढीले डाउनलोड गरेको जनाएको छ ।

एफवान सफ्टले लोजिका बिन्स कम्पनीबाट सफ्टवयर डेभलपमेन्टको काम गर्दै आएको छ । लोजिकाले सफ्टवयर निर्माणको काम गर्दै आएको छ । कर्पोरेट सेक्टर, बैंकिङ क्षेत्र, उद्योग, होटल, ट्राभल एण्ड टुर्स कम्पनीले आफ्नो प्रोफाइल देखाउन र अनलाइन सेवा दिन एफवान सफ्टमार्फत वेभसाइट तथा एप्लिकेशन निर्माणको काम गर्दै आएको छ ।

दर्शनटेक, एफवान सफ्ट ग्रुपले सन् २०१० मा स्थापना गरेको कम्पनी हो । यो कम्पनीले अनलाइन डोमिनको इन्सुरेन्सको काम गर्दै आएको छ । सात वटा इन्सोरेन्स कम्पनीसँग सम्झौता गरी उसले व्यापार गर्दैआएको छ ।

यसैगरी, एफवान सफ्टले ई–सेवा मनी ट्रान्सफर सेवा पनि सुरु गरेको छ । कम्पनीले ई–सेवामार्फत विदेशबाट नेपालमा रकम पठाउन यो कम्पनी स्थापना गरेको हो । यस्तै, एक्सटेन्सो डाटाले विभिन्न बिजनेस हाउसको तथ्यांकहरु केलाएर व्यापार बढाउने उपाय दिनेछ। ग्रुपले २०१३ देखि आईटी कलेज पनि सञ्चालन गर्दै आएको छ । स्वस्तिक कलेज स्थापना गरी कम्युटर साइन्स तथा प्रविधिमा दक्ष जनशक्ति निकाल्ने उसको लक्ष्य छ ।

यो पनि पढ्नुहोस्:

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

लाइसेन्स बिनाका कम्पनीहरुसँग कारोबार गरेको भन्दै ई–सेवालाई कारवाहीको तयारी

ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

Advertisement

Advertisement