दक्ष जनशक्तिको अभावले सोचेअनुसार ढाका कपडा उत्पादन गर्न सकिएन्ः महिला उद्यमी शर्मा

Advertisement

काठमाडौं । सीता शर्मा र शिवमाया राईले विगत छ महिनादेखि ढाकाको कपडा उद्योग सञ्चालन गर्दै आएका छन् । उनीहरुले पाँच लाख रुपियाँ लगानी गरेर ‘बूढानीलकण्ठ ढाका कपडा उद्योग’ सञ्चालनमा ल्याएका हुन् । 

सुतीको धागोबाट ढाकाका सामग्री उत्पादन गर्दै आएका उनीहरुलाई अहिले दक्ष जनशक्तिको अभाव खड्किएको छ । दुई सञ्चालकमध्येकी एक सीता शर्माले भनिन्, ‘ ढाकाका कपडा उत्पादन गर्न पहिला जस्तो अहिले कालिगढ पाउनै मुस्किल छ । काचम गर्ने जनशतिm अभावले गर्दा सोचेअनुरुप व्यवसाय गर्न सकिएको छैन् । महिलाहरु कोही सीप सिक्न नखोज्ने, सिकिहाले अगाडि बढ्न नखोज्ने...।’ 

Advertisement

रोजगारी दिन्छौं भन्दा पनि कोही काम गर्न नखोज्ने समस्या भोग्दै आएको शर्माले सुनाइन् । के दिनभरी घरमै बस्न खोज्ने कि विदेश जान खोज्ने तर सहज काम पनि गर्न नखोज्ने अल्छी प्रवृत्ति बढ्दै गएको सुनाउँदै उनले आफ्नो उद्योगमा काम गर्ने पाँच जना कर्मचारी आवश्यक भए पनि काम गर्ने मानिस नभएर समस्या भोग्नुपरेको बताइन् । 

उद्योग सञ्चालनमा ल्याएदेखि दुई जनाले दुई वटा साडी मात्रै उत्पादन गरेको शर्माको भनाई छ । उनले एउटा साडी उत्पादनका लागि बुट्टा अनुसार २० देखि एक महिनाको समय लाग्ने बताइन् । यसरी उत्पादन गरेको साडी १२ हजार रुपियाँमा बिक्री गर्ने योजना रहेको शर्माले बताइन् । 
 
बूढानीलकण्ठ ढाका कपडा उद्योगबाट ढाकाको पछ्यौरा, कुर्था, सुरुवाल, साडी, गलबन्दी, दउरा सुरुवाल, टोपी उत्पादन हुने पर्दछ । सुरुवाती दिनमा ग्राहकको चाहनाअनुसार उत्पादन गर्न नसक्ने भएका कारण बजार नखोजेको सुनाउँदै उनले बेलामौकामा स्थानीयबाट आएका अर्डरअनुसारका ढाकाका कपडा भने उत्पादन गर्ने गरेको सुनाइन् । शर्माको उद्योगबाट उत्पादित ढाकाका उत्पादन न्यूनतम् आठ सयदेखि १२ हजार रुपियाँसम्म पर्छ ।

उद्योग सञ्चालनमा आएपछिको ब्यापार सन्तोषजनक रहे पनि अपेक्षाअनुसार राम्रो व्यापार भने गर्न नसकेको उनको भनाई छ । उद्योग अझै नाफामा सञ्चालन हुन नसकेको उद्यमी शर्माले बताइन् । पालिकाले दिएको तालिम लिएर ढाकाका उत्पादनहरुको व्यवसाय सुरु गरेका महिला उद्यमीहरुलाई उद्योग सञ्चालन गर्न पालिकाले नै तान उपलब्ध गराएको थियो ।

पालिकाले उपलब्ध गराएको तानले साडी उत्पादन गर्न नमिल्ने भएपछि उनीहरुले आफ्नै लगानीमा अर्को तान खरिद गरेका थिए । ढाकाका कपडा बनाउन महिला शर्मा र राईले बसुन्धराको थोक बिक्रेताबाट धागो ल्याउने गरेका छन् । 

शर्माले आफूहरुको रुचीले नै ढाकाको व्यवसायमा हात हालेको बताइन् । महिलाहरुले आफै लगानी गरेर तालिम लिन पनि कठिनाई हुने र आफूहरुको जस्तो सानो उद्योगले खर्च गरेर स्थानीय महिलालाई तालिम दिन गाह्रो हुने भएकाले स्थानीय तहले खर्च गरेर महिलाहरुलाई तालिम दिने र सीप सिकाउने व्यवस्था गर्नुपर्ने उनले बताइन् । 

Advertisement

Advertisement