मैदानमा खटिए लघुबीमाका सीईओहरु, भन्छन्– हामी ठूला कम्पनीसँग जुध्न आएका होइनौं

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेर आफ्नो कारोबार सञ्चालनको अन्तिम तयारीमा रहेका लघुबीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिसकेका छन् । 

चार वटै बीमा कम्पनीहरुका सीईओले नियुक्तिपत्र लिएर फिल्डमा उत्रिसकेका छन् । उनीहरुले आफ्नो प्रतिस्पर्धा पूराना तथा ठूला बीमा कम्पनीहरुसँग नहुने बताउँदै फरक ढंगले काम गरेर न्यून आय भएका जनतालाई बीमाको दायरमा समेट्दै सफल कम्पनीको रुपमा स्थापित गर्ने बताएका छन् । 

Advertisement

सुर्खेतको वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय राखिएको क्रेष्ट माइक्रो लाइफको सीईओमा प्रतापलाल श्रेष्ठ नियुक्त भएका छन् भने विराटनगरमा केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफको सीईओमा चिरायु भण्डारी नियुक्त भएका छन् । यस्तै, भरतपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा मृगेन्द्र रिमाल नियुक्त भएका छन् भने धनगडीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सीईओमा नरेश रोक्का नियुक्त भएका छन् । 

पूराना कम्पनीहरुलाई नै व्यवसाय अभाव भइरहेको बेलामा एक्कासी नयाँ लघुबीमालाई किन लाइसेन्स दिइयो ? भन्ने प्रश्नहरु पनि उब्जिन थालेका छन् । नयाँ लघुबीमा कम्पनी सञ्चालनमा आउँदा पूरानासँग व्यवसायिक होडबाजी चल्ने हो कि ? आशंका हुन थालेको छ । यस विषयमा लघुबीमा कम्पनीका नवनियुक्त सीईओहरुले सतर्कताका साथ प्रतिक्रिया दिएका छन् । 

गार्डियन लाइफका सीईओ भण्डारीले कर्पोरेट नेपालसँगको कुराकानीमा भने, ‘अहिले व्यवसाय दुवै ठूला तथा साना बीमा कम्पनीहरुलाई चाहिएको छ । यसमा दुईमत छैन् । तर, यसको वास्तविकता अर्कै छ ।,लघुबीमा कम्पनीहरु ठूला बीमा कम्पनीसँग जुध्न आएका होइनन् । हामीले आफ्नै तरिकाले काम गर्छौं । तल्लो स्तरसम्म पुगेर नै काम गर्ने हाम्रो उद्देश्य छ । 

ग्रामीण भेगमा बीमाको पहुँच विस्तारका लागि लघुबीमा ल्याइएको हो भन्दै उनले अरु ठूला बीमा कम्पनीहरु शहर केन्द्रीत भएको बेला लघुबीमा ग्रामीण क्षेत्र केन्द्रीत हुने बताए । भण्डारीले थपे, ‘हामीले दुर्गम, अविकसित, अशिक्षित ठाउँमा गएर स–साना बीमा गराउँछौं । गरिबीको रेखामुनी रहेका जनातालाई आवश्यक रहेको बीमा हामीले गराउने हो । हामी पुग्ने समुदाय र ठूला बीमा कम्पनीले बीमा गर्न खोज्ने ग्राहक फरक हुन्छन् । त्यही कारणले पनि हाम्रो ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा हुने कुनै सम्भावना छैन् । 

केन्द्रीय कार्यालयहरु हाल मोफसलमा खोले पनि कर्पोरेट कार्यालय राजधानी काठमाडौंमा राख्न पाइने व्यवस्था रहेको उनले बताए । भण्डारीले आवश्यक परेमा शाखा कार्यालयहरु नेपाल अधिराज्य भर जहाँ पनि खोल्न पाउने प्रावधान रहेको जानकारी दिए । उनले भने, ‘अब हामीले बीमाशुल्क निकै कम बनाएर बढी सुविधा बीमितलाई लिने प्रयास गर्नेछौं । 

सरकारले लघुबीमामा पनि अनुदानको व्यवस्था गर्न आवश्यक देखिन्छ भन्दै सीईओ भण्डारीले सरकारले नै आवश्यकता महशुस गरेर लघुबीमाको लाइसेन्स दिएकाले ग्रामीण क्षेत्रका न्यून आयस्तरका जनतालाई सेवा दिने यस्ता कम्पनीलाई कसरी सहजीकरण र प्रोत्साहित गर्ने ? सरकारले नै सोच्ने विषय हो भने । 

बीमा प्राधिकरणले जीवन र निर्जीवन दुवै लघुबीमा कम्पनीको लाइसेन्स दिएकाले ग्रमीण क्षेत्रका न्यून आयस्तरका जनताको जनधनको रक्षा गर्ने काम यस्ता बीमा कम्पनीले गर्नसक्ने बताए । 

Advertisement

Advertisement